" खै खै "

शीर्षक चोरेछ नभन्नुहोला । यत्रो ब्लगै लेख्न तम्सेकोलाइ नाथे शीर्षक त के चोरिराख्न पर्थ्यो होला र ? नपरे किन चोरिस त भन्नू होला । मेरो मगजमा त्यही मात्र घुमिरह्यो त म के गरुम ? आज बिहानैदेखि हो, दिमागमा खाली "खै खै" का "खै खै" मात्र घुमिराछ । र यहि मात्र खेलिराछ । अब भन्नोस त ! के मेरो दिमाग यो नाथे "खै खै" को कृडा स्थल हो र दिनभर हाराभारा खेल्नलाइ ? मेरो दिमाग खै खैको बाबुको बिर्ता हो ? कि घर अगाडीको आँगन वा घर माथ्याडीको पाटो ? दिमागाँ यसरी बुर्कुसी मारेपछी दिमागको उर्भराशक्ती कहाँ पुग्छ ? अब भन्नोस त यत्रो उपद्रो गरिसकेसी म यो " खै खै " लाई शीर्षकमा नपछारुम त ?



दुनियाको उपद्र्याइको रापले रनक्क पोलेपछी पुटुस्स "खै खै" फुर्दो रहेछ । साहित्तेकार केसबराज पिंडालीलाई पनि भएको त्यही हो । त्यतिबेलाका चुरोटेहरुको "खै खै" बानिबाट आजित उनले "खै खै" लेखे । चुरोटेहरु त अम्बली हुन । खराब लत भएकामा यो "खै खै" को लत कुनै ठुलो कुरा होइन । तर यहाँ बुद्दिमान भनाउदा कलम धस्काउनेहरुमा "खै खै" को लत देख्दा भने फिटिक्कै चित्त नबुझ्ने क्या ।



उ बेलामा आफ्नै अधिकार सम्झेर "खै खै" भनेर चुरोट सल्काए जस्तै अचेल "खै खै" भनेर कलम माग्नेको बिगबिगी छ् । तपाईं सरकारी वा गैर-सरकारी कार्यालयमा जानोस । बिजुलिको बिल तिर्न वा स्कुलको फि तिर्न । तपाईं सँग कलम छ् भने खै खै आईलागी हाल्छ । तपाईंको हातमा कलम हुन्छ । "खै खै एकछिन" भन्दा उसले समातिसकेको हुन्छ । दिम कि नदिम भनेर बिचार गरुन्जेल त लेख्न थालिसकेको हुन्छ । फेरी कलमको खै खै यस्तो खै खै हो जो मागेपछी दिनु जरुरी हुन्छ त लिनेले फिर्ता गर्नु जरुरी हुन्न ।


एकदिन म बैंक गएथे । डिपोजिट स्लिप निकाल्दै थिए । "खै खै" भनेर एउटाले कलम थुतिहाल्यो । लेखोस् न त लेखोस् भनेर एक्छिन कुरेको । त्यहाँबाट खै खै भनेर अर्कोले लाग्यो । अर्कोबाट फेरी अर्कोले । एकैछिनमा मेरो कलम प्राइभेटबाट सार्वजैनिक भयो । आँफै स्लिप भर्न नपाएर कुर्या कुर्यै गर्दा कम्ता झोक चलेन । अनी यसो हेर्छु त पहिलो "खै खै" वाला उहिल्यै काम सकेर निस्किदै रहेछ । मैले भने -"ओ मित्र ! कलम लिएसी फिर्ता दिन पर्दैन ?" खाउला जसरी उल्टै उसैले हप्कायो -"मैले कहिले लिए कलम ?" त्यसपछी अर्को मान्छे परेछ कि भनेर आँफैले सरी भनियो । "कस्ता कस्ता मान्छे हुन्छन" भनी फतफताउदै उ बाहिर निस्कियो । अब हेर्नोस न । त्यत्रा सिसीकेमराको अगाडी ठाउको ठाउँ कलम डकैती भा'छ । सेक्युरीटीलाई कुनै मतलबै छैन । चोरी डकैती गैरकानुनी हो तर कलम चोरी चाही बैधानिक नै छन यहाँ । प्राय: मान्छेहरुले कलम हराएका हुन्छ्न । तर अहिले सम्म कोही कलम चोरेको निहुमा समातिएको थाहा छ ?


एकदिन परिक्षा फाराम भर्नु थियो । आँफैले कलम बिर्सिइएछ । त्यसपछी "खै खै" भनेको कलम भएको कोही छैनन । आखिर फाराम भर्नेहरु सबै बिद्यार्थी थिए तैपनी "खै खै" मेथडबाट कलम पाइएन । किन कि "खै खै" दिनेमा मात्र अाइलाग्छ तर दिनेमा कहिल्यै अाइलाग्दैन । लु भएन भनेर बाहिर गएर भने नि एउटा कलम किनेर ल्याइयो । "खै खै" भनेर अर्कोले कुदाइहाल्यो ।
एउटा शैक्षिकमेलामा गएको मित्रले फर्म भर्ने मेसोमा "खै खै" मा बिर्सेंर एक मुठै कलम क्याएछ । बिर्सेंरै ल्याएता पनि उ आफ्नो आकस्मिक कमाइमा प्रसन्न थियो । एकछिन पछी के लेख्नुपर्ने भयो । "खै खै" भनेर मेरै कलम पो थुत्छ । लाग्यो -" खै खै आवश्यकता र् बाध्यता भन्दा पनि बढी रोग हो ।"


अब नयाँ कलम किन्यो । लेख्न पाएको हुन्न । "खै खै" भनेर टप्काइहाल्छन । अत्ति भएसी एकदिन जुक्क्ती लगाएँ - अब कलम दिदा बिर्को झिकेर दिन्छु अनी बिर्को खोज्दै आफुकहाँ अाइपुग्छन । एउटा खैखैलाललाई त्यसै गरेँ । पछी यसो हेर्छु त बज्जेले बिर्को नलगाएको कलम खल्तीमा हाल्दिएर हिंडेछ । अघिल्लो दिन मात्र किनेको सेतो सर्ट खतम ।


एकदिन एउटा साथीको अफिसमा गएको थिएँ । कुन्नी के लेख्न "खै खै" भनेर नयाँ पाइलट पेन लिएको । लिएरै आइएछ । कहिलेकाही त बिर्सने बानी पनि नाफामा जाने क्या भनेर मक्ख पर्दैथिए । कलमले गोजिमा बान्ता गरेर कपडा खराब गरिसकेछ । मनमनै सरापे -"कस्ता मान्छे हुन्छ्न । कलम दिएपछी फिर्ता माग्न नि सम्झिनु पर्छ नि ।"


पाठकब्रिन्द, लेख्न त अझै बाँकी थियो । एउटा खैखैलालले कलम "खै खै" भनिसकेको हुँदा यो यहीँ टुङ्याए है ।

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ