अनि किन नजंगीउन त गृहमन्त्रीज्यू ?

गृहमन्त्री ज्यु आजभोली अलि तात्नुभा'छ । तात्नुको मतलव नबुझम कि उहाँलाई हनहनी ज्वरो आएको छ । उहाँलाई ज्वरो आको हैन बरु ज्यान सेलाएर सिताङ्ग भएको हो । "अनि ज्यान सेलाएका मान्छे कसरी तात्नुभो त ? कि डान्सबार तिर आँखा लगाउने मान्छे फेरी आँखा लगाएर त्यहि हट दृष्यको प्रभावले पो तात्नुभो कि ?” भनेर नि नसोचम । उहाँले त्यतातिर उतिबिधी आँखा लाउनु भएको छैन अचेल । उहाँ औराखको मुडा बालेर नि तात्नु भएको हैन र चैतको घामले नि तात्नु भएको छैन । उहाँ तात्नु भएको छ त झोकले । रमेश खरेल नामको पुलिस अधिकृत सँगको रिसले चुरिएर उहाँ रन्किनु भएको हो ।

मान्छेहरुले खरेलसँग जंगिएर अति गरे भनेर मन्त्रीज्यूको कुरा काटेर ध्वस्तै पारेका छन् ।कर्तव्यपालनमा खटिएका पुलिस अधिकृतलाई यसरी सराप्न र आक्रोश पोख्न हुन्नथ्यो भन्ने पनि प्रसस्त छन । तर खासमा यो होइन । मन्त्रीज्यूले तँ इमान्दार भइस, तैले राम्रो काम गरिस भनेर कहाँ सराप्नुभाको हुन त ? उहाँले त सेलिब्रेटी भयो, हिरो बन्यो भनेर पो सराप्या त । हिरो बन्यो, हिरो नबन भनेर सराप्नु कहाँ उनलाई हतोत्साहित गर्या हो त ? बरु उत्साहित पो गर्या हो त । पुलिस हिरो बनेपछी उनले फिलिम खेल्ने कि चोर समात्ने ? गृहमन्त्रीज्यूको आक्रोस यहाँ हो । पुलिस सेलिब्रेटी भैसकेसी उनलाई अटोग्राफ दिदैमा फुर्सद हुँदैन, अनि हतकडी कसले लगाउने ? मिडियामा उनकै वाह ! वाह ! अन्तर्वार्ता र भाषण उनले नै दिन थालेपछी, मन्त्री ज्यु चै के गरेर बस्ने ? उनकै भाषण सुनेर बस्ने ? उनकै अन्तरबार्ता पढेर बस्ने ? कुरा कम्ता जंगचल्दो छ त ? कुरा कम्ता पिरपर्दो छ त ? उस्तै मान्छेहरु भए गएर भित्तामा ड्वाङ ड्वाङ टाउको ठोक्थे । हाम्रा गृहमन्त्रीज्यू अलि सहनशिल मान्छे भएर मात्रै हो ।

मान्छेहरु भन्लान - "रमेश खरेल हिरै बन्न खोज्या छैनन् गृहमन्त्रीले त्यसै आरोप लगाए । उनी हिरो हुन खोज्या मात्र होइन भएकै हुन् ।" गुण्डा, डन, भिलेनहरुलाई खोजीखोजी समात्ने र कारवाही गर्ने हिरो नभएर के डान्सर हुन् त ? डन भनिनेहरुलाई फ्याउरा भनेर समात्दै खोरमा हुल्दै गरेर सातो लिने मान्छे हिरो नभएर के सिभिल इन्जिनियर हुन् त ? त्यसैले खरेलजी हिरो बन्न खोज्या मात्र होइन बनिसक्या हुन | हाम्रा गृहमन्त्रीज्यू अलि सहनशिल मान्छे भएर मात्रै हो, हिरो बनिसके पनि हिरो बन्न खोज्या मात्र भनिदिनुभाको ।


पुलिस त पुलिस पो हुनुपर्छ त । हिरो भएर नि हुन्छ ? उनको सप्पै स्वभाव हिरैको जस्तो छ । पुलिसको जस्तो केहि छैन । पुलिस भएसी त चाकडी चाप्लुसी गर्नु, स्यालुट हान्नु, चिप्लो घस्नु | क्यै छैन मात्र अपराध नियन्त्रण भन्या छ । शान्ती सुरक्षा भन्या छ । चोर, फटाहा, डाँकाहरुको निद हराम गर्या छ । यसरी नि हुन्छ ? अब उनले अहिले सम्म मन्त्रीज्यूलाई समेत भेट्या छैनन् रे । मन्त्रीज्यूलाई त भेट्न नसक्ने ले चोर कसरी भेट्न सकछ र समात्ने । उनले अहिले सम्म मन्त्रीज्यूलाई स्यालुट ठोक्या छैनन रे | मन्त्रीज्यूलाई स्यालुट त ठोक्न नसक्नेले अपराधीलाई हतकडी कसरी ठोक्न सक्छ ? आफुले त 'स्यालुट' ठोकेनन ठोकेनन । डनहरुले 'स्या' नठोके नि लुट त ठोकिरहेका थिए । तिनलाई समेत तर्साएर भड्काए । यस्ता नि पुलिस हुन्छन ? अनि किन नजंगीउन त गृहमन्त्रीज्यू ?

Comments

Popular posts from this blog

'सरी ! योर ट्रान्जेक्सन ह्याज विन टर्मिनेटेड !'

रुम नम्बर ट्वान्टी फाइभ