माओबादी माओबादी जस्तै रहेन ! :(
कुरो उप-निर्वाचनको हो । कुरो सबैलाई थाहा भएकै हो - अघिल्लो चुनावमा छिटपुट भए पनि जितेको एमाओबादीले उप-निर्वाचनमा निल खायो । चुनावमा त निल खायो खायो सँगै थाहा लाग्यो -एमाओबादीमा बिचलन आयो । प्रचण्ड, बाबुराममा बिचलन आयो । पार्टी सून्यमै पुग्नेगरि यत्रो हार खेपेको बेला धाँदली भयो भनेर आन्दोलनको आँधीबेहेरी ल्याउने धम्की नै आएन । झ्याप्प बक्तब्य निकालेर तुरुन्त मतगणना रोक्ने मागै आएन । यहाँ पार्टीको परम्परामै गम्भीर बिचलन देखियो । खै माओवादी माओबादी जस्तो देखिएको ? खै प्रचन्ड प्रचन्ड जस्तो देखिएको ? खै बाबुराम बाबुराम जस्तो देखिएको ?
अगाडीको चुनावमा मोटरसाइकलको हावा खुस्काएका थिए | त्यति गर्दा समेत केही सिट जितेको थियो एमाओबादीले । यसपाली केहि जितेन भनेपछी मोटसाइकलको मात्र होइन कार,जिप, बस देखि ट्रकै समेतको हावा खुकाएको हुनुपर्छ । त्यसै कहाँ निल खान्छ यत्रो पार्टी ? तै पनि एमाओबादी मौन छ । आखिर किन बोल्दैन धादली भयो भनेर ?
उबेलामा मतपेटिकाहरु ब्यारेकमा लगेर साटेका थिए रे । यसपाली त बंकरमै लगेर साटेका जस्ता छन । साच्ची यसपाली त बिद्दुतीय मतपेटिका हो क्यारे । त्यसको कहाँ लगेर तार फुस्काएको हुनुपर्छ । मत डिलिट्या हुनुपर्छ । माओबादीको बटम थिच्दा अर्कैमा भोट जाने बनाएको हुनुपर्छ । मतदान मेसिनमा भाईरस घुसाएको हुनुपर्छ । माओबादीको भोट पर्ने बेलामा ब्याट्री सिध्याएको हुनुपर्छ । त्यही हैसेहथौडे बटम भित्र चै भोट हाल्दै जादा प्लस को ठाउमा माइनस पार्देको हुनुपर्छ । संका गर्ने यतिका आधारहरु छन । लगाउने यतिका आरोपहरु छन तै पनि किन बोल्दैन एमाओबादी ? यो चमत्कारिक मौनता को अर्थ त्यहि हो कि पक्कै माओबादीमा बिचलन आयो ।
न त संस्थागत धाँदली भो भन्या छ । न त हामि माथी धोका भो भन्या छ ? उल्टै चुनाव नतिजा सर्लक्कै स्विकार्या छ । यस्तो पनि माओबादी हुन्छ ?चुनाव परिणामलाई यति सजिलै स्विकारेसी माओबादी र बुर्जुवाहरुमा के फरक भयो र ? मत परिणाम त स्वीकार्यो ठिकै छ । संबिधानसभा छोड्दिन्छु, बिरक्तिएर शान्ति प्रक्रिया नै छोडेर हिड्दिन्छु । जङ्गल पछु, खरानी घस्छु, जोगी बन्छु, तपस्से गरिबस्छु, कासी जान्छु भनेर एकफेरा घुर्की लाइदिएको भए के जान्थ्यो र ? आखिर राजनीतिमा बोलेको पुर्याउनै पर्ने बाध्यता थिएन त । यति सम्म नि गर्न सकेन । एमाओबादी माओबादी जस्तै रहेन । प्रचण्ड, बाबुरामले इज्यत फाल्नुभो ।
Comments
Post a Comment