थुतुनोग्राफी ( selfie )

हिले पहिले सौचालय जाँदा लोटा बोकेर जान्थे । अचेल बाथरुम छिर्दा क्यामेरा युक्त स्मार्टफुन लिएर छिर्छन । स्मार्टफुनको स्मार्ट युगका स्मार्ट मान्छेहरु, जसलाई दिन सुभारम्भ  गर्न पानी नभए नि क्यै फरक पर्दैन । ट्वाइलेट पेपरले चल्छ । तर क्यामेरा बिना चल्दैन । किनकि बिहान उठे देखी राती नसुते सम्म र राती निन्द्रा खुल्दा सम्मका तालतालको थुतुनोग्राफी अपरिहार्य छ । थुतुनोग्राफी जिउनुको प्रमाण हो । समय समयका, ठाउँ ठाउँका र किसिम किसिमका थुतुनोग्राफी लिएर सोसल मिडियामा पोष्टिए पछी पो थाहा हुन्छ, यो बाँचिरहेछ भन्ने । उठ्यो, बस्यो, खायो, सुत्यो, घुम्यो, हिड्यो देखि सम्पूर्ण दैनिक कार्यको प्रमाण हो थुतुनोग्राफी । थुतुनोग्राफ नलिईकन बाँच्नुको अर्थ छैन | जसरी सर्टिफिकेट नलिई औपचारीक पढाइको अर्थ छैन । त्यसैले आफु बाँचेको प्रमाण सोसलमिडियाहरुका भित्तामा झुन्ड्याउन थुतुनोग्राफरहरुको हरुको तछाँड मछाड छ ।

थुतुनोग्राफी आत्मघाती फोटोग्राफी हो । जो आफैलाई ताकेर हानिन्छ । यस्तो खतरनाक कुरा तर्फ नि मान्छे लालाहित छन । अरु कुनै पनि आत्माघाती कुराहरु मान्छेलाई प्रिय छैनन् । आत्मघाती आक्रामण भनुँ, आत्मघाती गोल भनुँ या त आत्मघाती कदम भनुँ ति सुन्दै अप्रिय लाग्छन । तर यो आत्मघाती फोटोग्राफी सुन्दै प्रिय लाग्छ, खिच्दै प्रिय लाग्छ र हेर्दै प्रिय लाग्छ ।
धन्न कुनचाईले यसलाई “सेल्फी” नाम दिएछ । नत्र यस्तो प्रिय कुरालाई आत्मघाती भनेर कसरी भन्नु ? अब अंग्रेजीमा त यसलाई सेल्फी भनियो नेपालीमा के भन्ने ? विद्वानहरु सेल्फी लिनमै तल्लिन भैरहेका हुनाले यसको नेपाली नामाकरण हुन सकीरहेको छैन । त्यसैले यसलाई थुतुनोग्राफी भन्दिम् । किनकि यो फोटोग्राफी थुतुनो तिर केन्द्रित छ । र थुतुनोग्राफी खाने, बस्ने, काम गर्ने, मर्निंग वाक लगाएत सवैतिर बिस्तारित छ, मानौ कि ति कर्म सबै थुतुनोग्राफीकै लागी गरिएको छ । लाग्छ, चाडपर्व, बिवाह, ब्रतबन्ध, जन्मदिन लगाएका कार्यक्रम पनि थुतुनोग्राफीकै बहाना हुन् ।

सोसलमिडियाको भितामा ताल-तालका थुतुनोग्राफी प्रदर्शनी देखेर मन गदगद भएर आउँछ । कस्तो समयमा धर्तिमा आइएछ भनेर आफ्नै भाग्यप्रति सम्मान जागेर आउँछ । कसैको डोलीमा अन्मिदाको थुतुनोग्राफी । कसैको बच्चा जन्मिदाको थुतुनोग्राफी । कसैको तलब आएर गन्दाको थुतुनोग्राफी कसैको ट्वाइलेटमा बसेर कन्दाको थुतुनोग्राफी । के मात्रै देखिने के ? कसैको पार्कतिर घुम्दाको थुतुनोग्राफी । कसैको बुट्यानमा छेकिएर चुम्दाको थुतुनोग्राफी । कसैको भट्टी जाँदाको थुतुनोग्राफी कसैको रौसी खाँदाको थुतुनोग्राफी । कसैको घोडा चड्दाको थुतुनोग्राफी, कसैको टिल भएर लड्दाको
थुतुनोग्राफी । जनजीवनको दिनहुँ यति बृहत र ब्यापक सचित्र सन्चार थुतुनोग्राफी बिना के सम्भव थियो होला र ?   

थुतुनोग्राफीको तलतल लागेसी सिरियस मुडमा हुँदा नि पोज दिने जाँगर चलेर आउँछ । थुतुनोग्राफीको रगरगीमा अरुले बिल्ला हान्यो भने त रिसाउने मान्छे आफुले आफैलाई बिल्ला ( ट्याग ) हान्छौं । थुतुनोग्राफीको मर्म बुझेपछी छुचुन्द्रो जस्तो मुख लगाएको थुतुनोग्राफ पनि काइता लाग्न थाल्छ (काइता नलागे नि एउटा पर्म त हो । आफुले अरुको प्रसंसा गरे पो अरुले नि आफ्नो प्रसंसा गर्छन त ) । भनिन्छ - फिलिम खेल्दा खेल्दै भागेर आएको जस्तो । स्वर्गबाट झरेर पखेटा फुकाल्नासाथ लिग्या थुतुनोग्राफी जस्तो । सुन्दर, सुन्दरी, अवेसम अवेसम्नी के के के के । जसले गर्दा थुतुनोग्राफवालालाई आत्मसम्मान बढेको छ । र राम्रो / राम्री भएँ भन्ने भ्रममा उनीहरुको आत्मबिस्वास बढेको छ । यता तारिफलालहरुलाई नराम्रो कुरालाई राम्रो भन्ने सम्मको धर्य र साहास दिएको छ । जय होस् थुतुनोग्राफीको ।  

Comments

  1. अस्ति बत्ति नभाको बेला रवि दाईले लेको थुतुनोग्राफीको कुरा चाहिं छुटेछ है.... बाकीं सबै कुरा टेस पर्दो छ.......

    ReplyDelete

Post a Comment

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ