बाबुरामलाई रुन देउ ।

                 हामी  केटाकेटीमा सोच्थेम् - राजाले नि पाध्छन् होला ? यदि त्यो बेलाँ राजाले पाधिहालेको भए (पाधेको खबर हामीसम्म आएको भए) के उल्का हुन्थ्यो होला ? कि त हाम्रो त्यो बेलाको राजा उल्काका मान्छे हुन् भन्ने हाम्रो सोचै भताभुंग हुन्थ्यो । “धत् ! राजाले नि पाधेछन । यस्तो पधुवा पनि राजा हुन्छन ? राजाले नि यसरी पाध्न हुन्छ ?” वा “बाब्बा ! राजाले पाध्दा आवाज कत्रो आयो होला ? गन्ध कति किलोमिटर फैलियो होला । त्यसको प्रभावले कति जना फेन्ट भए होलान ? हाम्रो स्कुल कति दिन बिदा होला ?” आदि इत्यादी । केटाकेटी सोच न हो ।
पछी राजाले लगायत सवै मान्छेले पाध्छन भन्ने थाहा पाउँदा हामी हुर्कीसक्या थिएम् । मनमा त्यस्ता तर्क बितर्क उब्जेन । न त “धत् ! राजाले नि पाध्न हुन्छ ?” भनेर बिरोध जनायौं । न त गणतन्त्रको आन्दोलनमा "राजाले पाध्न पाइदैन, पधुवा राजा चाइदैन !"  भनेर नारा लाग्यो ।   जे  भए  नि राजा र अरु  मान्छेमा  एउटा  समानता छ - पधाई  ।  लाखौ असमानता बीच पनि मान्छेमा मान्छेको गुणमा समानता पाइन्छ ।  
उ बेलामा हामी केटाकेटीहरु “राजाले नि पाध्छन् होला  ?” भनेर  अचम्म  मानेजस्तै  जस्तै  अहिलेका धुरन्धरहरु  चाहीँ “नेताले नि पाध्लान ?” भनेर अचम्म मान्दा रहेछन । अस्ति बाबुराम भट्टराई अखबारमा कानुनमन्त्रीलाई एक  बलात्कृत किशोरीले लेखेको चिठी पढेर रोएछन ।
धुरन्धरहरुलाई उल्का भैहाल्यो - “धत् !  नेता पनि रुन हुन्छ  ?  उनि रुन पाउदैन्  । यस्तो रुन मन लाग्ने
 मान्छे किन नेता भाको  ?” भनेर यसरी खेदो  खनिरहेका छन् कि अव उनले झारीसकेको आँसु फेरी आँखा भित्रै पसाउनु पर्ने छ भनेर आन्दोलन गर्न बेर छैन । “ऐले  रुने  मान्छे  ‘जनयुद्द’ मा मान्छे मर्दा किन नरोएको ? आफै प्रधानमंत्री हुँदा  भएका घटनामा किन नरोएको  ?”  रे ।  ए  बाबा  रे ! के अब रुनैको लागी बाबुरामले फेरी  जनयुद्द घोषणा  गर्न  पर्यो  ?  रुनैको  लागी  फेरी  प्रधानमन्त्री  हुनपर्यो ? त्यसरी त हरेक नेतालाई रुन मन लाग्ला रे  अनि  रुनकै लागि  हरेक नेताले  जनयुद्द  गर्ने  ?  हरेक नेता प्रधानमन्त्री हुने ? यो सम्भव छ ?  कोही भन्छन - “अहिले  रुने  बाबुराम  नन्दप्रसाद  अनसन मै  मर्दा  किन नरोएको ?” अनि के बाबुरामलाई रुन मन लागेबिच्छे, अनसन  बसेर मान्छे मर्दिनु पर्ने ? नत्र बाबुराम रुनै नहुने ?
रुनु, हाँस्नु, मख्ख पर्नु, बैराग्गिनु, माया प्रेम, करुणा आदि मानवीय गुण हुन । नेतामा  मान्छेका  गुण देखा पर्नु नराम्रो होइन । राम्रै हो बरु । उनिहरु चाइनिज इँटा वा काठले बनेकामा मान्छे होइनन् । हामी बनेकै चिजहरुले बनेका हुन् । त्यसैले उनिहरु पनि रुन, हाँस्न सक्छन्  । बाबुको चौरासी गर्न सक्छन्  ।  दशैमा  टिका  लगाउन ,  मन्दिर जान, घण्ट बजाउन, सङ्ख फुक्न सक्छन । उनीहरु पनि  फिलिम हेरेर  क्या  दामी भन्न  सक्छन  ।  हिरोकै स्टाइलमा कपाल कोर्न सक्छन ।
यति मात्र होइन, नेताहरु पनि ट्विटरमा बतासे खेल्न पाउछन । फेसबुकमा बकम्फुस  पोख्न पाउछन्  ।  घाम  ताप्दै सुन्तला र बदाम खान पाउछन ।  गित  गुनगुनाउन पाउँछन । सुसेल्न पाउछन् । रत्यौलीमा  नाँच्न  पाउँछन ।  मायाप्रिती गाँस्न पाउँछन । सेल्फी खिच्न पाउछन  ।  नेताहरु मान्छेबाट राजिनामा  दिएर नेता बनेका  हुन् र थोडी ? मान्छे छँदै नेता भएका हुन्  । त्यसैले टेस पर्दा  हाँस्न  र  पेच  पर्दा  रुंन  सक्छन ।  यसमा  आश्चर्य र आपत्ति जनाउनु हुन्न ।  बाबुरामले रुन पाउँछन । उनलाई रुन देउ ।

Comments

  1. हो हो बाब्रामले रुनै पर्च । ;)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ