विश्व खाध्य कार्यक्रमको जयजयकार गरौं !


प्रचारमै पनि मख्खन चामलको बास्ना ३०० मिटर भन्दा भन्दा बढी फैलदैन थियो । विश्व खाध्य कार्यक्रमको चामलको बास्ना त ख्यालख्यालमै १ लाख ४७ हजार १ सय एकासी बर्ग किलोमिटर फैलिसकेछ । र अहिले मुलुकभर यसकै बास्नाको चर्चा हुन थालेको छ  । बासमती चामलभन्दा बास्नादार चामल खासै नदेखेका हामीलाई विश्व खाध्य कार्यक्रमको सुपर बास्नादार चामलले दंग बनाएको छ  । फरक यति हो  बासमति चामल नेपाली चामल भएकोले नेपालीमै हरर बास्ना आउंथ्यो । विश्व खाध्य कार्यक्रमको चामल बिदेशी भएर अंग्रेजीमा हरर ( डरलाग्दो ) बास्ना आउदोरहेछ । नेपाली बास्नेदार चामल बासमती हो भने विश्व खाद्य कार्यक्रमले ल्याएको चामललाई चै ह्वास्मती ( ह्वास्स + मती : ह्वास्स गनाउने र पवित्र बागमतीको जल खाए झैँ फाइदा गर्ने ) भनिन्छ । प्राकृतिक प्रकोपमा परेका नेपालीलाई यस्तो बास्नेदार ह्वास्मती चामल ल्याएर खुवाउने दिलदार, मनकारी विश्व खाद्य कार्यक्रमलाई जति तारिफ गरे पनि कमै हुन्छ बढी हुन्न ।
http://byangya.blogspot.nl/2015/07/blog-post_8.html

मुलुकमा त्यस्तो क्वाइलीटीको ह्वास्मती चामल त कहिल्यै आएको थिएन । जो एक पटक कसैले खायो भने जीवनभर डकारमा त्यसकै बास्ना आउछ र महिनौ सम्म हात त्यसैको बास्नाले मगमगित हुन्छ । यो यस्तो चामल हो जुन काठमाडौमा बोरा खोल्यो भने सिन्धुपाल्चोक सम्म सुगन्ध फैलिन्छ र दोलखाको सिंगटीमा सिठी लगाउदा त्यसको बास्नेदार तरंग गोरखाको बारपाक सम्म पुग्छ । यो चामल बहु उपयोगी चामल हो । यसको उपयोगिता भात पकाएर खाएर पेट भर्नुमा मात्र सिमित छैन । पहिलो कुरो त यो चामल किफाएती छ । दिगबिगीले गर्दा यसको भात एक गाँस भन्दा खान सकिन्न त्यसैले एक पाथी चामल पकाउने हो भने पचासौ मान्छेलाई पुग्छ । जसले गर्दा खाद्य बचत रहन गै खाद्यान्न आयात गर्न नपर्ने हुन्छ । अझ बढी भएको खाद्यान्न निर्यात गरि मुलुक मालामाल हुन्छ । एक पटक खाइसकेसी यसबाट पेटमा उत्पन्न हुने कम्प परकम्पहरुले गर्दा चार पाँच दिन त खानै सकिन्न । एक छाक भात खाएसी चार पाँच दिन ओखती खानु पर्ने हुँदा ओखतीको खपत बढ्छ । यसले ओखती उद्योगहरु फस्टाउछन् र जडिबुटीहरुको सदुपयोग हुन्छ । डाक्टरहरुले काम पाउछन ।

यसको बिशेषता भनेको चामललाई चामल मात्र नभै मलको रुपमा समेत प्रयोग गर्न सकिनु हो । त्यसका दुई बिधि छन् । एक त करेसा बारीमा एउटा खाल्डो खन्ने त्यसमा २ बोरा सुपर बास्नेदार ह्वास्मती चामल खन्याउने र एक बाटा साग पखालेको र एक बाटा कसौडी माझेको पानी हाल्ने । त्यसपछी पाँच थाप्रा गोबर, कुहिएको गोलभेडा, अन्डाको खबटा, फर्सीको गिद्रा, काक्राको तितो भाग, लसुनको खोस्टा र पात पतिंगर राखी छोपिदिने । केहि दिनमा फर्स्ट क्लास मल तयार हुन्छ । अर्को भन्या सुपरफास्ट बिधि हो । त्यसमा एक थाल ह्वास्मती चामलको भात खाने । केही घण्टामा गुडुडु आवाजका साथ् मल तयार हुन्छ । त्यसपछी मल हाल्नु पर्ने खेतबारी तिर कुद्ने । इजारको सुर्केनी तान्ने अनि बस्ने ।

मलको रुपमा प्रयोग मिल्ने चामल सर्बोत्तम राहत हो । यसले राहतले गर्दा जनतामा ल्याउने परनिर्भरताको जोखिम रहन्न । किनकी मलबाट असली चामल निकाल्न श्रम र समय खर्चिनु पर्छ । बोरामा मल राखेर धान फल्दैन त्यसको लागी खेती गर्नु पर्यो । मानिसहरु खेतीपातीमा लागेसी यहि अन्न उत्पादन हुन्छ र मुलुक खाध्यान्नमा  आत्मनिर्भर हुन्छ । ह्वास्मती चामल आफै अर्ध कुहिएको चामल हुँदा रक्सी बनाउन पुरै कुहाउन पर्दैन । त्यसैले रक्सि बनाउन यो चामल उत्तम छ । ह्वास्मती चामलबाट रक्सि उत्पादन गर्ने हो भने काठमाडौमा रक्सि बनाउन प्रयोग हुने मोजाको खपत घट्छ र खासाबाट ब्यापार घाटा कम हुन्छ  ।

कुकुरलाई घ्यु नपचे चै हामी ह्वास्मती चामल नपचाएर विश्व खाध्य कार्यक्रमलाई नसरापौ । उसले त चित्त दुखाइ सक्यो र सहयोग रोक्ने धम्की नि आइसक्यो । क्यै गरि उसले तरलाउन नसकेको कुहिएको चामल यता पठाएन भने हाम्रो बिजोग हुन्न ? त्यसैले गुणकारी ह्वास्मती चामल पठाउने विश्व खाद्य कार्यक्रमको जयजयकार गरौं । अझ सकिन्छ उसैको नाममा सप्ताह लगाऔ । डब्लुएफपी किर्तन लगाऔ ।  पुजा आरती गरम । नसरापौ ।
विश्व खाद्य कार्यक्रमकी - जय !
गन्धे चामल दाताकी - जय !!
ह्वास्मती बिधाताकी - जय !!!

Comments

Popular posts from this blog

'सरी ! योर ट्रान्जेक्सन ह्याज विन टर्मिनेटेड !'

रुम नम्बर ट्वान्टी फाइभ