अल्ड्रिन नेपालमा

चन्द्रमामा पुगिसकेका अन्तरिक्षयात्री अल्ड्रिन अहिलेसम्म नेपालमा भने आएका रहेनछन् । यसपालि ‘चन्द्रमा त गइयो, नेपाल चाहिँ किन नजाने ?’ भनेर आइपुगेछन् ।
आउनासाथै उनको भेट भएछ प्रधानमन्त्री प्रचण्डसँग ।
प्रचण्डले भनेछन्, ‘निश्चित रुपमा यहाँले रकेट चढेर चन्द्र धरातल टेकेकै हो । हामीले पनि महान् जनयुद्द लडेर सिंहदरबार टेकेकै हम् । रकेट र जनयुद्ध भनेको बिलकुलै भिन्न जिनिस रहेछ, रकेटले अन्तरिक्षमा पुर्‍याउँदो रहेछ भने जनयुद्धले सरकारमा । अब समानता भन्नुहुन्छ भने सरकार र चन्द्र धरातलको बसाइ अत्यन्त क्षणिक हुँदो रहेछ । आफ्नो बस्ने इच्छा हुँदाहुँदै पनि उकाल्नेहरुले नै ओह्राल्दा रहेछन् । ओर्लिसकेपछि उक्लिन दुबैतिर गाह्रो हुँदो रहेछ ।’
अल्ड्रिन दंग परेर प्रचण्डका कुरा सुनिरहेका थिए ।

प्रचण्डले अझ जोसिएर थपे,  ‘हुन त जनयुद्ध पनि चन्द्रमाबाटै सुरु गरम् कि भन्ने मन नभएको हैन । तर, तपाईं जस्ता पार्टनर परेनन् । तपाईंलाई नील आर्मस्ट्रङ्गले नभेटेर मैले भेटेको भए निश्चित रुपमा चन्द्रमामा पुगिन्थ्यो र त्यहीँबाट जनयुद्ध सुरु गरिन्थ्यो । तर, मेरा पार्टनर परे बाबुरामजी । जनयुद्ध सुरु गर्दा चन्द्रमा ट्याक्क जलजला हिमालको टुप्पोमा देखियो । लौ जून त्यहीँ छ, जनयुद्ध यहीँबाट छेडम् भन्नुभो र थालियो रोल्पाबाटै ।
अब त जनयुद्ध पनि सकियो । तपाईं आउनुभएको बेलामा यो प्रधानमन्त्रीको कुर्सी चैं चन्द्रमातिरै उकाल्दा कसो होला ? त्यहाँ भए कोही ढाल्न पुग्दैन थिए । न त देउवाजी नै नजिक आएर दिन गन्ती गर्दै पालो कुर्दै बस्थे !’
प्रचण्डको कुराले चकित बनेका अल्ड्रिनको भेट भयो एमाले अध्यक्ष केपी ओलीसँग ।
ओलीजीले भने, ‘हेर्नुस् अल्ड्रिन कामरेड ! आकाश डुल्नुभो । अन्तरिक्षमा घुम्नुभो । चन्द्रमामा टेक्नुभो । तर, के भो ? नेपाल नै आउनुभएको रहेनछ यो उमेरसम्म ! जुनी त्यसै गएन ? अहिलेसम्म गैंडा नै देख्नुभएको छैन त चन्द्रमामा पुगेर के भो ? गैंडा नै नदेखी कपालै फुलिसकेछ । किन गएको चन्द्रमामा ? जुन ठाउँमा गैंडा नै हुन्न !
खगोल विज्ञानका यत्रा धेरै रहस्य जान्नुभो । तर, गैंडा भन्न नजानेर राइनो, राइनो भनिरहनुभा’छ । कहाँबाट आयो राइनो ? जुन चिज चन्द्रमामा हुँदै-हुँदैन त के को राइनो ? यत्रा चन्द्रमासम्म पुग्ने यान भएको मान्छे उही बेला चितवन आएको भए गैंडा देखिसक्नुहुन्थ्यो । चन्द्रमामा गएर ढुंगामाटो हेरेर आउनुभो । जिन्दगी त्यसमै खेर फाल्नुभो । धन्न यो उमेरमा भए’नि आउनुभो र गैंडा देख्न पाउनुभो । नत्र गैंडा नै नदेखी मर्नुहुन्थ्यो ।’
ओलीजीको कुराले हाँसूँ कि रोऊँ भइरहेका अल्ड्रिनको भेट कांग्रेस सभापति शेरबहादुर देउवासँग भो ।
रवि मिश्र
देउवाजीले भनिहाले, ‘जिन्दगीमा हनिमुन मात्र ४ चोटि मनाइयो । विवाहको एकचोटि र सरकारको तीन चोटि । चार वटै हनिमुन पृथ्वीमै मनाइयो । एउटै हनिमुन’नि चन्द्रमामा पुगेर मनाउन सकिएन । सरकारमा तीन–तीन चोटि गइयो, चन्द्रमामा एकै पटक पनि जान सकिएन । सरकार बनाउने अनेकौं टेक्निक थाहा भो । अन्तरिक्ष यान बनाउने ढंग नै पुगेन । अब भन्देखुन् यसो गरम् न ! तपाईलाई बरु प्रचण्डजीलाई झैं एउटो सरकार बनाइदिम्ला,  मलाई एउटो चन्द्रयान बनाइदिन पर्‍यो । अब बन्ने सरकारको हनिमुन चन्द्रमामा गएर मनाउनुपर्‍यो । प्रचण्डजी पछि सरकारमा जाने पालो मेरो जो छ ।
के भन्छन् यी देउवाजी भनेर अल्ड्रिन ट्वाँ परिरा’थे। त्यही बेलामा नेता रामचन्द्र पौडेल आइपुगे ।
अल्ड्रिनलाई देख्नासाथ सुरु गरिहाले, ‘हेर्नुस् ! लेख्ने नै हो भने गिनिज बुकमा तपाईंको जस्तो रेकर्ड मेरो पनि बन्छ । तपाईं चन्द्रमामा उक्लिने मेसोमा कतिपल्ट लड्नुभो ? म प्रधानमन्त्रीको कुर्सीमा उक्लिने मेसोमा १७ पल्ट लडेको छु । सत्रै चोटि हारेको छु । यति मात्र होइन, पार्टी सभापतिमा संसदीय दलको नेतामा पनि हारियो । अब चन्द्रमामा गएर चुनाव लड्नु छ र फेरि हार्नु पर्‍या छ । एक पटक मलाई र देउवाजी वा प्रचण्डजीलाई लगिदिनुस् न । गएर चन्द्रमामा लडेर १८औं चोटि हार्ने तलतल लागेको छ ।
‘खाँचो लागिरछ !’ भन्ने सोच्दै अल्ड्रिन अघि बढ्दै थिए । फ्याट्ट लागेर नेता विमलेन्द्र निधी भेटिए ।
निधीले भनिहाले, ‘कतै नासाबाट चन्द्रमासम्म फास्ट ट्र्याक त बनाउन लाग्नुभा’छैन ? छ भने इन्डियालाई जिम्मा दिम् है । यस्ता ठूला प्रोजेक्टहरु स्वदेशी लगानीमा सम्पन्न गर्न सम्भव छैन । मुलुक डुब्छ यसो गर्दा ।’
कुरा हुँदै थियो । त्यहीबेला टुप्लुक्क भीम रावल आइपुगे । उनले भने – ‘ए निधीजी, तपाईंहरुबीच के कुरा हुँदै थियो ? तुरुन्त रेकर्ड सुनाइहाल्नुस् त !’
‘म किन सुनाउने ?’ निधीजी जंगिए, ‘पर्सनल कुराको रिकर्ड सुनाएर साध्य लाग्छ ?’
रावलजी कड्किए – ‘साध्य नलागेर सुख ? तपाईं त मन्त्री हो । दलको नेता जसरी सुनाउदिनँ भन्न मिल्छ ? तुरुन्त सुनाउने । नत्र… !’
‘नत्र क्यार्नुन्छ ? सुनाउदिनँ । एक दुई तीन सुनाउदिनँ । तपाईंको ल्यापटपमा भा’को जिनिस सुनाउनुन्च र म चैं टेप रिकर्ड सुनाम् ?’ निधीजी पनि के कम !
रावलजीले भने – ‘निधीलाल !’
निधीजीले भने – ‘रावललाल !’
त्यसपछि दुबै घमासान रुपमा भिड्न थाले ।
अब यहाँ बस्नु भनेको फस्नु हो भन्ने सोच्दै अल्ड्रिन बाटो लाग्ने तरखर गर्दै थिए । ऋषि धमला आएर च्याप्प पाखुरामा समातिहाले ।
ऋषिजीले भनिहाले – ‘म चन्द्रमामा तपाईंको पछाडि उभिएर टेलिभिजनमा देखिने कहिले अल्ड्रिनजी ? ५ वर्ष, १० वर्ष, १५ वर्षमा कहिले ? जनता जान्न चाहान्छन् अल्ड्रिनजी ! कहिले ??’
त्यसपछि अल्ड्रिन त्यहीँ बेहोश भएछन् ।

Comments

Popular posts from this blog

'सरी ! योर ट्रान्जेक्सन ह्याज विन टर्मिनेटेड !'

रुम नम्बर ट्वान्टी फाइभ