मुलुक बन्छ, स्योर हो

बर्बादै भैसक्या’थ्यो । सबै कुरा मिल्दै गा’बेलाँ । सबै कुरा बन्दै गा’बेलाँ । कल्पनै कल्पना, सपनै सपनाबाट सब पूरा हुँदै गा’बेलाँ समयले पानी छम्केर झल्याँस्स पार्दिएको थियो । बिजोग भा’थ्यो । ठामठाममा वायु बिद्दुत प्लान्ट निर्माण भैरहेका थिए । पूरै मुलुक झलमल भैसकेको थ्यो । बिद्दुत अभावले प्याकप्याक्ती भएको मुलुक कसरी दिद्दुत बेच्ने भनेर योजना बनाउँदै थियो । चीन नेपालबीच थुप्रै नाका खोली ट्रकका ट्रक बिजुली निर्यात गर्ने कुरा हुँदैथियो । वायरलेस पद्दतिबाट बिजुली प्रशारणको तयारी हुँदैथियो । ठाउँ ठाउँमा टावरहरु बन्दै थियो । बिद्दुत पठाउने र प्राप्त गर्ने स्टेसनहरु बन्दै थिए । लास्टमा आएर प्रचण्डले लत्तो छाडिदिए । देउवाले चलखेल गरे । ओली सरकार ढल्यो ।
अब के गर्ने यो छेलोखेलो बिद्दुत ? अझ तातोपानीमा थर्मल प्लान्ट स्थापना गरि त्यही तापबाट बिजुली निकाल्न मात्रै लागिएको थियो । लास्टमा त्यही स्वप्नद्रस्टाको काखीमा थर्मोमिटर राख्नुपर्ने स्थिति आयो । ओली सरकार ढलेसँगै तातोपानीको पानी खेरै गो । कुनै काम लागेन । त्यो चिसै भएसरह भो ।
घरमा ग्यास पाइप फिटिङ गर्ने काम हुँदैथियो । बिलिङ मेसिन र प्रयोग देखाउने मिटर जडान भइसकेको थियो । काम बाँकी भनेको प्रशारणलाइनसँग जोड्नमात्रै थियो । सरकार गएसँगै बर्बाद भा’थ्यो । फेरि सिलिन्डरै बोकेर लाम बस्न बाध्य भैया’थ्यो । ए बैराग ! ओली सरकार ढलेर त बिजोगै भा’थ्यो नि ।

एक लट देश डुल्नु थियो । पूर्वमा काँकडभित्तादेखि पश्चिम कञ्चनपुर पुग्नु थियो । ताप्लेजुङ, गोरखा, हुम्ला, जुम्ला हुँदै सोही दिन काठमाडौं आएर खाना खाने प्लान थियो । सब चौपट भा’थ्यो । काटिसकेको रेलको टिकट फिर्ता गर्नु पर्या’थ्यो । हैट भाग्य ! राष्ट्रवादी सरकारसमेत ढल्या’थ्यो । अब फेरि बसै चढ्ने ? अब के गर्ने यत्रा रेल र लिकहरु ? भन्ने कुराले परेसान भा’थ्यो ।
सबैभन्दा खिन्न त रानीपोखरीमा पार्क गरिराखेको पानीजहाज देख्दा ला’ग्थ्यो । अब यसको हालत पनि ट्रली बसको जस्तै हुनेभो भनेर मन कम्ता खा’थेन । अब कसले चलाउने यसलाई ? अब त्यहीँ धुलिएर, खिया लागेर सकिने भो । जलमग्न सडकमा पाङ्ग्रे यातायतमै यात्रा गर्नुपर्ने भो । हाय ! ओली सरकार गयो । नेपालले अब स्पेसमा स्याटेलाइट नराख्ने भो । हातमा थाली बोकेर चन्द्रमामै पुगेर पूजा गर्न नमिल्ने भो । यी सब सपनै रहने भो । यहाँ घोर अनर्थ भो । यस्तो सरकारसमेत ढल्यो । बरबादै भो नि भनेर मनमा राँके भूत कुद्थ्यो ।
नयाँ सरकार नि बन्यो । तर, विश्वाससँग चैँ मनको डिभोर्सै भा’थ्यो । अब कहिल्यै आइन्नँ भनेर मन छोडेर गा’थ्यो । राष्ट्रवादी सरकार त ढल्यो । अरु सरकार के सरकार ? ओली कामरेडले नै छोडेसी अरु प्रधानमन्त्री के प्रधानमन्त्री ? अब मुलुक क्यै गरी नि बन्नेछैन भनेर हरेस खाइयो र मुलुकबारे सोच्नै छाडियो । प्रचण्डजीसँग ओलीजीसँग जस्तो नाम्चे- कागवेनी पानीजहाज कुदाउने योजना फुराउने क्षमता छ भन्ने कुरामा इत्ति पनि विश्वास थिएन । न त चन्द्रमामा बस्ती बसाल्ने र मंगल ग्रहमा गोलभेँडा फलाउने भिजनै छ जस्तो ला’ग्थ्यो । यो सरकार ओली सरकारको लेभलमा पुग्नै सक्दैन जस्तो लाग्थ्यो । तर, यी सब अन्धअविश्वास रहेछ भन्ने बिहीबार थाहा भो । उनको बिहीबारको सम्बोधन सुन्नासाथ ज्यानमा सरर… आशा कुद्न थालेको छ । अब एक–डेढ महिना उमेर घर्काइसकेको नौ महिने सरकारले दशौं वर्ष लाग्ने योजना पेस गर्छ र त्यसलाई पूरा गर्छु सम्म भन्छ भने त्यस्ता सरकारलाई चन्द्रमामा बस्ती बसाल्नु, मंगल ग्रहमा गोलभेँडा फलाउनु कुनै ठूलो कुरा होइन । त्यसैले मुलुक बन्नेचैँ अब पक्का भो ।
हुन त प्रचण्ड प्रधानमन्त्री बनेपछि नै मुलुक बन्ने छाँटकाँट नदेखिएको होइन । भटाभट निर्देशनकै बलमा जग हालिसक्या थिए तर पत्याइएनँ । तर, बिहीबारको सम्बोधन र योजना सुनेसी चैँ साँच्चै मुलुक बन्ने हो कि भनेर आश लागेर उधुम छ ।
खासमा हामी मुलुक बन्ने कुरा हत्तपत्त पत्याउँदैनौं । अहिले ‘मुलुक बन्ने भो’ भन्दाखेरी पनि ओठ लेप्र्याएर ‘नापियो मुलुक बन्न त !” भनिसक्नुभो होला । तर, नापिए नि ननापिए नि मुलुकचैँ बन्ने अब पक्का भो । किनभने आखिर हामीसँग के चैँ छैन र मुलुक बन्न ? यत्रा खोलानाला, वनजंगल, चौर, हेर्नुस् हामीसँग के छैन ? जडिबुटी, खनिज पदार्थ, ढुंगा माटो बालुवा, गोबर, गउँत सब छ हामीसँग । नेपाललाई घरि सिंगापुर, घरि मलेसिया त घरी हङकङ बनाइदिने नेताहरु छन् हामीसँग । मासिक २० हजारको जागिर खाएर वार्षिक २० लाख कमाउने ताकत भएका कर्मचारी छन् हामीसँग । एक दशकमा लगभग सबै नेतालाई प्रधानमन्त्री र सबै कार्यकर्ताहरुलाई मन्त्री बनाउन सक्ने व्यवस्था छ हामीकहाँ । सोहीअनुसार राजनीतिक चलखेल गर्न सक्ने दलहरु छन् हामीकहाँ ।
यसप्रकार मुलुक बन्न सक्ने र अगाडि बढ्न सक्ने अपार सम्भावना र अवसरहरु थिए यहाँ र छन् पनि । तर एउटै कुराको अभाव थियो यहाँ । अह्राउने अर्थात् निर्देशन दिने मान्छे थिएन र मुलुक बन्न रोकिएको थियो । अब प्रचण्ड आएका छन् र त्यो अभाव पनि पूर्ति भएको छ । यतिबेला मुलुक बन्ने सबै सम्भावनाहरु “अँ, योर मार्क, गेट सेट …” को स्थितिमा छन् । अब प्रधानमन्त्री आएर भटाभट “गो !” भन्न थालेका छन् । त्यसैले अब फेरि ओली सरकारको पालामा झैँ मुलुक बन्छ । यो स्योर हो ।

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ