निशानामा परिवर्तन

केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीयताबारे खुलेरै असन्तुष्टि व्यक्त गरे । असन्तुष्टि मात्रै होइन आफूलाई संघीयताविरोधी भनिरहन आग्रहसमेत गरे । रामशरण महतहरुको संघीयता महँगो हुन्छ, मुलुकले धान्दैन भन्ने रोइलो पुरानो होइन । चित्रबहादुर र उनी मार्काका अन्य नेताका सनातनी विरोधको त कुरा छाडौं । धर्म निरपेक्षताको विरुद्ध कमल थापा र खुमबहादुरलाई उछिन्दै शेखर कोइराला अचेल अग्रपंक्तिमा छन् । यही धर्म निरपेक्षताविरोधी अभियानको छेउ वा टुप्पोमा कतै न कतै राजतन्त्रको पुनर्स्थापन र गणतन्त्रको विस्थापन जोडिएको छ । हामीले लोकतान्त्रिक गणतन्त्रका खम्बा भनी पत्याइएका यस्ता पात्रहरु अब कुनै पनि बेला खन्ती बनेर राजतन्त्रको पक्षमा निस्किए कुनै अनौठो हुनेछैन ।
मान्छेहरू ‘ठेलागाडा चढेर अमेरिका’ पुगिवरी प्रधानमन्त्री बनिसके । सतिको शोकले विक्षिप्त स्वस्थानीको नवौं अध्यायका शिवजीझैं राजतन्त्रको पार्थिव शरीर बोकेर ‘हा राजतन्त्र !’ भनी भौंतारिएकाले गणतन्त्र नेपालको उपप्रधानमन्त्रीको शपथ खाइसके । यति भैसक्दा पनि यहाँ केहीका पश्चगमनप्रतिको मोह ज्यूँका त्यूँ छ । 
यसरी नेपाली राजनीतिमा अचेल उल्टो बाटो हिंड्नेको तँछाडमछाड छ । उल्टो हावा बहाउन खलाँती चलाउनेहरुको बिगबिगी छ । भलै नचल्ला तर तिनीहरु आफ्ना प्रयत्नमा तल्लीन छन् । जनआन्दोलन–२ पछिको परिवर्तित परिस्थितिमा आफ्नो भाग जोगाउन मात्रै परिवर्तन स्वीकारेकाहरु अचेल आफ्नो असली अनुहारमै फुत्तफुत्त निस्किन थालेका छन् । मान्छेहरू ‘ठेलागाडा चढेर अमेरिका’ पुगिवरी प्रधानमन्त्री बनिसके । सतिको शोकले विक्षिप्त स्वस्थानीको नवौं अध्यायका शिवजीझैं राजतन्त्रको पार्थिव शरीर बोकेर ‘हा राजतन्त्र !’ भनी भौंतारिएकाले गणतन्त्र नेपालको उपप्रधानमन्त्रीको शपथ खाइसके । यति भैसक्दा पनि यहाँ केहीका पश्चगमनप्रतिको मोह ज्यूँका त्यूँ छ । मौका मिल्नासाथ त्यतै बुर्कुसी मार्न र मुलुकलाई पनि त्यतै धकेल्न चनाखो छन् ।

परिवर्तनका एजेन्डा आफ्नो दाबी गर्ने विभिन्न माओवादीका प्रजातिका माओवादीहरु पनि यसैलाई प्रतिकूल पार्ने कुदाइमा सहभागी हुन छुटेको छैन । अखण्डता हुँदै संघीयताबधक बन्ने छाँट देखाएको ५ नम्बरे आगोमा घ्यु थप्न टोपबहादुर डाडु नै लिएर अघि बढेका छन् । त्यसो त परिवर्तनका हिमायती मान्नेहरु पनि सत्ता राजनीतिमा चुर्लुम्म डुबी आफ्नो बदनामीको हिलो परिवर्तनसम्म फ्याँकी नै रहेका छन् । राजालाई विस्थापित गर्दै पदमा पुगेकाहरुले पदको मर्यादा राख्न जानेनन् । आवश्यकता सांस्कृतिक रुपान्तरणको थियो । राजाकै पाइला सुँघ्दै मन्दिर चहारे । राजतन्त्रको ठाउँमा गणतन्त्र आयो । निरंकुशताको ठाउँमा लोकतन्त्र आयो । तर सत्ताधारीका सोच र चरित्र बदलिएन । श्रीपेचको ठाउँमा टोपी आयो तर टोपीधारीका खुट्टाहरु श्रीपेचधारीकै पदचाप पछ्याउँदै लाग्यो । यो भद्दा अनुसरणले जनताको मनमा दिगमिगी पैदा ग¥यो ।
जान्नेप्रसादहरुले यसैलाई जनताको परिवर्तन प्रतिको अरुची भनेर अथ्र्याए । सत्ताधारीप्रतिको हरेक वितृष्णाहरुलाई आफू अनुकूल र परिवर्तनका प्रतिकूल व्याख्या गरे । वास्तवमा जनताको अरुची अहिलेको पट्यारलाग्दो यथास्थितिप्रति हो । अग्रगमनतिर लाग्नुपर्नेले गर्ने प्रतिगमनको भद्दा सिकोको हो । गणतन्त्रमा नि देखिएको राजतान्त्रिक आचरणको हो । हिजो खाइपाइ आएकाहरुलाई आज नि आफ्नो भागै जोगाउनु पहिलो प्राथमिकता छ । हाल समस्याको गाँठोको रूपमा रहेको संघीयता र त्यसभित्र प्रदेशको सीमांकन केहीको भागै जोगाउन ज्यादा कसिएको छ । केहीको भोट, नोट, पद र शक्तिको स्वार्थ नमिलेसम्म त्यो फुक्ने छैन । त्यसमै हिजो पछि पारिएका, राज्यसँगको पहुँचदेखि टाढा पारिएकाहरुले पनि आफ्नो हिस्साको दाबी गरेसी खाइबाहरुको भाग अनिश्चित भैहाल्यो । यसले टाउको दुखाएको छ । त्यो टाउको दुखाउने परिवर्तन तिनलाई साँच्चिकै घाँडो छ । समयले भिराएको यो घाँडो उनीहरुको बाध्यता हो । यसलाई कम्तीमा नि हलुङ्गो बनाउन चाहन्छन् उनीहरु । लोकतन्त्र, संघीयता, समावेशिताजस्ता अरुचिमै आइलागेको घाँडो नाम मात्रैको होस् भन्ने चाहना छ । तर उनीहरुको चाह विपरीत आएको संघीय लोकतान्त्रिक गणतन्त्रले त्यो चाहनालाई बोकोस् कसरी त्यसैले बढ्ता रिस यसैमाथि छ ।
भाग जोगाउन हम्मे परेकाहरु र भाग गुमेकामा छट्पटाइरहेकाहरुको यही आएर कुरो मिलेको छ । र परिवर्तनविरुद्ध प्रहार थालेका छन् । कतै राष्ट्रवादको नाममा त कतै जनजीविकाको सवालमा यिनको आवाज एक भएको छ । कहिले राष्ट्र बर्बाद हुनेभो भन्ने हौवामा त कहिले जनताको समस्याप्रतिको चुक्चुकाहटमा बल जुटाउँदैछन् । यससँगै तितरबितर पूर्वपञ्चहरु जुटेका छन् । मौका यही हो भनेर पूर्वराजा आफ्ना ढलिसकेको आशामाथि पानी छम्किंदैछन् । आशा गरौं– त्यो उठ्नुअघि नै परिवर्तन संस्थागत गर्न र संविधान कार्यान्वयन गर्न परिवर्तनका हिमायती मानिएका दलहरु फेरि एक हुनेछन् र आफूप्रति मर्नै लागेको जनताको आशा फेरि बग्र्याउने छन् ।

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ