देवत्वकरण, दानवीकरण र लोकमान
धुइपत्ता खोजिएको साँचो आस मरिसकेसी बगलीमै फेला परेझैं हिजो फेरि अर्को तथ्य फेला प¥यो– ‘यो मुलुकमा अदालत नि छ है ।’ अदालतले कानुनअनुसार एकजना अयोग्य संवैधानिक निकाय प्रमुखलाई योग्यता नपुगेको भन्दै बर्खास्त गरिदियो । जो उसले गर्नै पर्ने कुरा हो । कानुनमा उल्लेख गरेअनुसारको काम नभए त्यसलाई भएन है भन्दै खारेज गर्नु उसको कर्तव्य नै हो, ग¥यो । भलै उनको बर्खास्ती संसद्बाटै भइदिएको भए, महाअभियोग लगाएरै हटाउन सकिएको भए अझ राम्रो हुन्थ्यो । संसद् र राजनीतिक दलहरुप्रति जनताको गुम्दै गएको विश्वास केही पलाउन सक्थ्यो । तर, संसद्बाट त्यो हुन सकेन । जनताले चुनेको त्यो सार्वभौम संस्थाले एक अयोग्य संवैधानिक निकाय प्रमुखलाई ‘किक आउट’ गर्ने हिम्मत जुटाउन सकेन । त्यस शक्तिशाली संस्थामाथि त्योभन्दा बलियो अर्को तत्व हावी भयो वा आफ्नै खुट्टा तानिने डर भयो । समय आलटालमै गुज्रिरह्यो ।
सर्वोच्चले लोकमानलाई अयोग्य ठहराएसँगै यसको जस लिने र दिने होड चलेको छ । जसको होड मान्छेलाई मान्छेबाट जुरुक्क उठाएर देउता बन्ने बनाइनेसम्म पुगेको छ । अहिले अधिवक्ता ओमप्रकाश अर्यालको आरतीगान सुरु भएको छ । निश्चय पनि लोकमान योग्य भनी आएको फैसला पुनरवलोकनको निवेदन दिएका थिए । राम्रो भो । त्यसै मुद्दामाथि फेरि बहस हुँदा लोकमान फालिए । जुन एउटा कानुन बुझेका व्यक्तिले गर्नैपर्ने कर्तव्य थियो । विधि, प्रक्रिया र कानुनको सही व्याख्या अदालतको कर्तव्य नै हो । गर्नेले सही गरे लत्तो छोडिदिएनन् बस त्यति हो । कसैले लत्तो नछोडेकै कारण देउता बनाइरहन जरुरत छैन । कानुनसम्मत आएको फैसलाको जस रिट हाल्ने र फैसला गर्नेलाई नियम कानुनलाई जान्छ । लोकतान्त्रिक व्यवस्थाले स्वीकारेको न्यायालयको सर्वोच्चतालाई जान्छ । तर, एउटा आँखाले कसैलाई देउता र अर्को आँखाले कसैलाई दानव नबनाई हामी कुनै घटनाको विश्लेषण गर्नै सक्दैनौं । हामीलाई विधि, प्रक्रिया, कानुन र व्यवस्थाप्रति विश्वास छैन । यसले काम गर्छ भन्ने हामीलाई लाग्दैन । कुनै देउताको अवतार यहाँ भुरुरुरु उडेर आउँछ काम बनाएर जान्छ । कुनै दानवको अवतार खुरुरु आउँछ, काम बिगारेर जान्छन् । गर्ने देउताल्यै हो देउताको जय होस् ।

‘ठूल्देवता’ को आशीर्वाद र ‘शीर्ष देव’का साथ पाएका लोकमान गोठबाट फुकेको बधँुवा भैंसी बारीमा बुर्कुसी मारेझैं निजामती, प्रशासनमा बुर्कुसी मार्न थाले र झिना–मसिना कर्मचारीका सातो लिन थाले । हामी मिचिएका हरेकलाई दानवीकरण गर्दै गयौं । मिडियाको पनि वाहवाही नै चल्यो । यसबाट उत्साहित लोकमानले ‘लब्धप्रतिष्ठित’हरुका पिछ्वाडामा चिम्टा डाम्न थालेसी उनका विषयमा ‘नागरिक समाज’ विभाजित भए । कोही थपडी मार्न थाले, कोही रुन । उनको रौं हल्लिएन । उनको आत्मविश्वास बढ्दै गयो । अब त टंगालबाट समानान्तर सरकार चलाउन थाले । सरकारी निकायदेखि जताततै यसो गर र नगर भनेर शासन चलाउन थाले । मेडिकल कलेजमा हस्तक्षेप गरी आफैं परीक्षा लिन थाले । तीव्र विरोध भो । केसीजी अनसन बसे । यिनको रौं पनि हल्लेन । यतिले पुगेन अब नेताहरुमाथि पत्र काट्न थाले । प्रचण्ड दिल्ली गएका बेला उनीमाथि नै फायर खोले । अघिसम्म भुरेभारेका टाउको दुखाइ बनेका लोकमान अब नेतैका पनि टाउको दुखाइ बने । आफैं रक्षात्मक अवस्थामा पुगेसी एमाले र माओवादीले महाअभियोगमार्फत लोकमानमाथि जवाफी फायर खोले । तर, कांग्रेसले यसमा पनि आँट जुटाउनै सकेन । महिनौंमा नि त्यो आँट नजुटेकै अवस्थामा अदालतको आदेशले लोकमान निलम्बनमा परे ।
निलम्बित लोकमान सिंह लोकतान्त्रिक नेपालमा सामन्ती चरित्रका अवशेष थिए । उनले व्यक्ति मात्र होइन सरकार, पद्धतिलाई नै कज्याउन थालेका थिए । यसमा उनी जति दोषी छन् त्यति नै उनलाई ल्याउने शीर्ष नेता नि दोषी छन् । त्यति नै शीर्ष नेताको देवत्वकरण गरी विधि प्रकृया मिचेर उनलाई नियुक्त गर्ने हिम्मत दिने हामी नागरिक दोषी छौं । नेता, प्रशासक, समाजसेवी जोसुकै होस् देवत्वकरण गर्नु भनेको त्यसलाई मान्छेको पहुँचभन्दा पर पु¥याउनु हो । देउता बनेसी ऊ मान्छे जस्तो हुन्न । मान्छेको कुरा सुन्दैन । विरोध समर्थनले उसलाई छुन्न । यसैबाट लोकमान प्रवृत्ति जन्मिन्छन् ।
(विश्वसंदेश साप्ताहिकमा प्रकाशित)
(विश्वसंदेश साप्ताहिकमा प्रकाशित)
Comments
Post a Comment