के पहिला ?
एकादेशमा एउटा सरकार थियो रे । सरकारको नेतृत्व गर्ने तीन नम्बरको एउटा दल थियो रे । त्यस्कै अध्यक्ष प्रधानमन्त्री थिए रे । तिनलाई चलाउने अर्को नम्बर वान दल थियो रे । तिनका पनि भन्देखुनलाई सभापति थिए रे । प्रमुख प्रतिपक्षमा दुई नम्बरी दल थियो रे । तिनका लम्बरी राष्ट्रवादी अध्यक्ष थिए रे । मधेसमा फेरि पाच नम्बरी पार्टी थिए रे । यी सब एक दिन राष्ट्रको गहन मुद्दा मिलाउन बसेछन् ।
त्यहाँ दुइटा चिज रहेछन् । एउटालाइ संविधान संसोधन भनिदो रहेछ । त्यो कस्तो भन्दा - चुचो भएको, दुइटा पखेटा भएको, खुट्टा भएको, भ्याटभ्याट गरि अलिअली उड्न सक्ने, क्वाँक क्वाँक क्वाँक कट्याक गरी कराउने कुखुरा । अर्को चुनाव, त्यसैको फूल । हल्का खैरो अण्डाकार । खिरिलो । बहस चल्यो कुन पहिले ?मधेशबादी दलहरुले भने - "पहिले त कुखुरै हो । कुखुरा नभैकन अण्डा के बाट निस्कनु ?"
एमालेले भन्यो - "अण्डा नभै कुखुरो चै के बाट निस्कनु नि ? पैले अण्डा हो । अनिमात्र कुखुरा ।"
उपेन्द्र यादवजीले यसलाई इन्कार गर्दै भन्नुभो - " त्यो कुखुरा निकाल्ने अन्डा चै कस्ले पार्यो ? अन्डाबाट चल्ना कोरन्ल ओथारो को बस्यो ? तपाईं बस्नु भो ?"
ओलीले जवाफ दिनुभो - "त्यो ओथारो बस्ने, अन्डा पार्ने कुखुरो निस्कने अण्डा चै कस्ले पार्यो ? भर्याङमुनी खोसल्टा जम्मा गरेर थचक्क बसेर तपाईंले पार्नु भो ?"
महन्तजीले भन्नू भो - "अनि त्यो कुखुरो चै केराको घाँटोबाट निस्क्यो ?"
ओलीजीले भन्नुभो -" अनि अण्डा चै के इन्टरनेटबाट डाउन्लोड भो ?
महतोजीले भन्नुभो -"जस्ले जे भनुन कुखुरा पैले हो । अण्डा पैले भन्ने महेन्द्रबादी हुन् । "
रावलजीले भन्नू भो - "पहिले अण्डा हो । कुखुरा पैले भन्नेहरु बिखण्डनकारी हुन् । अन्तैबाट परिचालित हुन" ।
त्यसपछी प्रचण्डजी बोल्नुभो - "अण्डा, कुखुरो क्यै पहिला होइन । पहिला कुर्सी हो । त्यसमा नि पहिला म हो । अनि मात्रै देउवाजी ।"
देउवाजीले भने -"अब त मेरो पालो आउन लाग्यो है । कुर्दा कुर्दै पट्यार लाग्यो ।"
प्रचण्डजीले भन्नुभो -" चुनाव नगरी कहाँ तपाईंलाई नि ?"
उपेन्द्रजीले भन्नुभो - "संविधान संसोधन नगरी के का चुनाव ? पहिले कुखुरा हो । अनि मात्रै अण्डा !"
ओलीजीले भन्नू भो -" यसै बुर्कुसी मारेर हुन्च । पैले अण्डा हो !"
Comments
Post a Comment