समाजसेवी केटाहरु र राष्ट्रवादी राजनेता

एकताका तत्कालीन एमाले नेता केपी शर्मा ओलीले पार्टीमा चरी, बाहुन, परशुराम लगायत एक से एक डन भित्र्याएका थिए । एकपछि अर्का गुन्डाका नाइकेहरु पार्टीमा भित्र्याउन थालेपछि जनस्तरमा मात्रै होइन पार्टीभित्र पनि त्यसको तीव्र आलोचना भएको थियो । पछिल्लो पार्टी महाधिवेशनमा त माधव नेपालले धनवाद र डनवादविरुद्ध आफूले अध्यक्षमा लड्नुपरेको बताउदै आएका थिए । तर, केपी ओली भने गुण्डा नाइकेहरुलाई खेलाडी केटाहरुको संज्ञा दिन्थे । आफूले समाजसेवी केटाहरुलाई पार्टीमा भित्र्याएका भन्थे ।
अस्ति केही लेखक स्तम्भकारहरुले ओलीलाई राजनेताको पगरी मात्र गुथाएनन् पृथ्वीनारायण शाह र बीपी कोइरालापछिको उच्च मानव घोषणा गर्नसमेत भ्याए । अहिले ओलीलाई राष्ट्रवादी नेता मान्नेहरुको एउटा जमातै छ । एकखाले बौद्धिक तप्का, एकखाले समाजका फ्रन्टलाइनरहरु, आम सञ्चार तथा सोसल मिडियाहरुमा उनको स्तुतीगान प्रशस्त सुन्न पाइन्छ । तर, ओलीका समाजसेवी केटाहरु र लेखक स्तम्भकारहरुका राष्ट्रवादी राजनेता उपाधिमा उही स्तरको ठट्यौली भेटिन्छ, जब केही पछाडिसम्म मात्र पुगेर उनको विगत केलाउन थालिन्छ र केही अगाडि मात्र पुगेर राजनायकीका योग्यता केलाउन थालिन्छ । उसो त मान्छेहरुमा असीमित सम्भावनाहरु नहुने होइन । रत्नाकरपछि बाल्मिकी ऋषी बनेझैं चरी पनि बाँचेका भए समाजसेवी बन्न सक्थे होलान् । त्यसै गरी ओली पनि राजनेता बन्न नसक्लान् भन्ने छैन ।

अहिलेका उम्दा राष्ट्रवादी नेता भनी कहलिएका कामरेड ओलीको पहिचान पचासको दशकमा ठीक उल्टो थियो । नेपाल ठगिएको महाकाली सन्धि पारित गराउने मुख्य खेलाडी उनी थिए । जसलाई उनकै पार्टीका नेताहरु राष्ट्रघाती भन्छन् । यही सन्धिकै कारण बामदेव, सिपी एमालेमा नअट्ने स्थिति आयो । र, राष्ट्रवादकै नारा लिएर बामदेव, सिपी समूहले पार्टी फुटाए । अहिलेका ‘राजनेता’ मानिएका ओलीको त्यतिबेला पार्टी फुटाउनुमा प्रमुख हात थियो । पार्टी नेतृत्व माधव–मनमोहनमा भए तापनि असन्तुष्ट पक्षलाई चिढ्याउने बढी उनै थिए । इस्यु थियो– राष्ट्रवाद बामदेव–सीपीको उनीमाथिको बिल्ला थियो ‘राष्ट्रघाती’ ।
पार्टी फुट्दा पिलो निचोरेर शरीरको वजन नघट्ने अभिव्यक्ति दिएका ओलीको त्यसपछिको राजनीति बामदेव–सिपी (बासी) गुटको उछितोमै चल्यो ।
त्यो बेला एमाले ठूलो र लोकप्रिय पार्टी थियो । ९ महिने शासनकालमा भएको जनमुखी कामहरुले जनताहरु उत्साहित थिए । त्यो बेला नै ओलीजस्ता नेताले पार्टीलाई एकताबद्ध गरेर लैजान सकेका भए राजनीतिक कोर्स त्यतिबेलै अहिलेभन्दा बेग्लै ढंगले अघि बढ्न सक्थ्यो । उनलाई त्यतिबेलै राजनेता बनी निस्कने अवसर थियो । राष्ट्रहितविपरीत गरिएको महाकाली सन्धि र त्यसैको असर स्वरूप भएको पार्टीको फुटले एमालेले नराम्रो हार खान मात्र बाध्य भएन । माओवादी ‘जनयुद्ध’लाई समेत यसले मलजल ग¥यो । एमाले फुटाइ माले पार्टी बनाएका बामदेव त पछि एमालेमै फिर्ता भए तर कार्यकर्तालाई फर्काउन सकेनन् । एमाले फुटी माले हुँदै माओबादीमा गएका कार्यकर्ताकै कारण माओबादीको आकार बढ्यो । त्यसपछिको संसदीय चर्तिकलाले जनतामा उब्जाएको निराशाले बिद्रोहलाई नै मलजल ग¥यो र देशले एक दशकभन्दा लामो हिंसात्मक द्वन्द्व झेल्नुप¥यो ।
बामदेव समूहको एमालेमा विलय भएसि बामदेवकै आलोचनामा राजनीति धानिरहेका ओलीलाई फसाद प¥यो । पार्टीमै आइसकेको व्यक्तिलाई गाली गरिरहनु नि त्यति रंग चढ्दो हुन्नथ्यो । कांग्रेसकै आलोचना त माधव पनि गर्थे, फरक भएन । खुल्ला राजनीतिमै नआएको माओवादीको आलोचनाको स्वाद थिएन । दरबारको गर्न आँट थिएन । गाली नै नगरी राजनीति कसरी टिकाउने ?
जनआन्दोलनमा खासै रुची र सक्रियता नदेखाएका ओलीलाई जनआन्दोलन र गणतान्त्रिक आन्दोलन नयाँ खुराक बन्यो । ठेला गाडा चढेर अमेरिका पुगिन्न भन्दै गणतन्त्रको खिसिट्युरीमा केही समय उनको राजनीति चल्यो ।
जनआन्दोलनका सफलतापछि लोकतन्त्रको भविष्यसँगै ओलीको राजनीति पनि उज्ज्वल भएर आयो । अब त माओबादी नि खुल्ला राजनीतिमा आयो । ओलीलाई खुँदो पल्ट्यो । गाली र टुक्कामै राजनीति चलाएका ओलीले झन्डै एक दशक त माओबादीकै उछितोमा राजनीति धाने । खुला राजनीतिमा माओवादी आलोच्य बन्दै गएसि आलोचनामै राजनीति चलाएका ओलीको क्रेज बढ्दै गयो । पछि मधेशबादी आए राज्यमा आफ्नो समान हैसियत खोज्दै । एकथरीको यसले हवास उड्यो । तर, उनको आलोचनाको दायरा फराकिलो भो । अब उनको राजनीति मधेशतिर मोडियो । हवास उड्नेहरु उनका फ्यान बने ।
संविधान निर्माणसम्म आइपुग्दा सत्ता र शक्तिको दौडमा सधैं आलोचना गर्ने गरिएका बामदेव र प्रचण्ड जिग्री बने । अबको उनको राजनीति कांग्रेसको उछितोतिर स¥यो । संबिधान बनेसँगै भारतले अमानवीय नाकाबन्दी लायो । नाकाबन्दीकै समयमा प्रधानमन्त्री बनेका ओली जब भारतको आलोचना गर्न थाले, तब ओली महान राष्ट्रवादी कहलिन थाले ।
पहिले भारत दाइना पारि राजनीतिक लाभ लिंदै आएका ओलीको राजनीति अब भारतको विरोधमा चल्न थाल्यो । भारतसँगै जोडेर मधेसी दललाई मात्रै होइन कांग्रेस, माओवादीलाई नि कोख्याउन सजिलो भयो । नाकाबन्दीको विरुद्धमा जति मजबुत कूटनीतिक एक्सन लिन सक्नुपथ्र्यो त्यो उनले लिन सकेका होइनन् । बरु कमल थापामार्फत केही बुँदे ड्राफ्ट दिल्लीमा पु¥याएर भारतलाई खुसी पार्ने प्रयास थालेका थिए । ओली सरकारले नाकाबन्दीको विरुद्धमा अन्तर्राष्ट्रिय मञ्चमा दह्रो स्ट्याण्ड लिन नसकेको मात्र होइन । ठुलो स्वरमा यो नाकाबन्दी हो भनेर भन्नसमेत सकेको थिएन । नाकाबन्दीले जनताको चुलो नबल्दा । मुलुकमा चरम लोडसेडिङ थियो । त्यतिबेलै अहिले जस्तो बिजुलीको सही व्यवस्थापन गर्दै चुलो बाल्ने मात्रै वातावरण मिलाइएको भए । कमसेकम जनताले राहत पाउन सक्थे । भएकै बिजुली व्यवस्थापन नगरी ओली हावाबाट बिजुली निकाल्ने बतासे योजना बनाउँदै थिए । बजारमा औषधीसमेत अभाव भइरहेको बेला उनी पानीजहाज चलाउने सपना बाँड्दै हिंड्थे । चीनसँग सम्बन्ध बढाई भारतलाई चेक दिनु उनको सकारात्मक पाटो थियो । नाकाबन्दी नखोली भारत भ्रमण गर्दिन भनी अडान लिनु प्रशंसायोग्य कुरा हो । तर, यसैको आधारमा राजनेताको पगरी गुथाउनु हतार हुनेछ । विरोधीहरु माथिको निषेधको राजनीतिले उनलाई राजनेता बनाउँदैन । मधेशीलाई नेपाली नगन्नु । विरोधी पार्टीलाई पार्टी नगन्नु । र, आफ्नै एकोहोरो डम्फु बजाइमा मुलुकलाई बन्धक बनाएर कोही पनि राष्ट्रवादी कहलिन्न ।
राजनेतामा मुलुकलाई अघि बढाउने र समृद्ध बनाउने स्पष्ट भिजन हुनुपर्छ । कसैको आलोचना गरेरै मात्र र बतासे गफले मात्रै राजनेता हुन्न । जबसम्म उनमा विरोधी पक्षलाई नि समेटेर लैजाने र स्पेश दिनुपर्छ भन्ने गुण विकसित हुन्न । 
(विश्वसंदेशमा प्रकाशित)

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ