कञ्चनपुर गोलीकाण्डसँग जोडिएका ‘अति’हरू

यो जुगमा दुनियाँमा भारतै त्यो देश होला, जसले लाजै नमानी अर्को एक सार्वभौमसत्ता सम्पन्न मुलुकको सीमाभित्र पसेर विकास निर्माणका काम भत्काउन सक्छ । र, सोही निर्लज्ज बाँदरे प्रवृत्तिको विरोधमा उत्रिएका निशस्त्र, निहत्था नागरिकप्रति गोली ठोक्न सक्छ । ज्यान लिन सक्छ । सानै किन नहोस् विश्व मञ्चमा नेपालको हैसियत नि एक मुलुकको हो भारतको पनि । आत्मसम्मान दुवै बराबर नै हो । नेपालको ठाउँमा भारतले यो हर्कत पाकिस्तान, बंगलादेश वा चीनको सीमामा गरेको भए के हुन्थ्यो होला स्थिति ? अब टाढा नजाम् रोटी र बेटीको सम्बन्धतिरै फर्कौं– रोटी र बेटीको सम्बन्धमै यो घटना नेपालको तर्फबाट भएको भए ? नेपाली पक्षले चैं भारतको सीमाभित्र गएर कलभर्ट भत्काएको भए ? नेपाली सुरक्षाकर्मी छिरेर गोली ठोकेर भारतीय नागरिक मारेको भए स्थिति के हुन्थ्यो होला ? नेपालको सीमा काटेर गरिने यो अति हेपाइ र निर्लज्जताको हद हो । जुन कुनै नयाँ नभई एसएसबीको पटके ज्यादती थियो ।
कञ्चनपुर घटनापछि नेपाल सरकारले क्यै नसके नि घटनाको कडा शब्दमा निन्दा र भत्र्सना गर्दै भविष्यमा यस्ता घटना नदोहो¥याउन चेतावनी त दिन्छ भन्ने अपेक्षा थियो । घटनाबारे राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्नेछ भन्ने थियो । बीरगञ्जमा आन्दोलनमा घुसेका  भारतीय नागरिक मारिदा भारतीय प्रधानमन्त्रीले जसरी नेपाली प्रधानमन्त्रीलाई फोन गरेर आपत्ति जनाएथे । कम्तीमा पनि आफ्नो सीमाभित्र एसएसबीद्वारा आफ्ना नागरिक मारिदा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई तुरुन्त फोन गरेर आपत्ति जनाउने आस थियो । तर, सरकारको दिन आँट जुटाउँदैमा बित्यो ।

बेलुका न्वारनदेखिको आँट जुटाएर गृह मन्त्रालयले विज्ञप्ती निकाल्यो ‘मित्रराष्ट्र भारतका सीमा रक्षकले आवेशमा प्रहार गरेको गोलीबाट एकजना निर्दोष नेपाली नागरिकले ज्यान गुमाउनपर्दा नेपाल सरकार गृह मन्त्रालय स्तब्ध भएको छ ।’ आफ्नो नागरिकको हत्या गर्ने भारतीय सुरक्षाकर्मीप्रतिको यति नरम भाषाले काउकुती लाएर स्वयम् भारतीय अधिकारीहरु मरीमरी हाँसे होलान् । यति टिठलाग्दो वक्तव्य पढेर उनीहरुलाई नै दया पलायो होला ।
निश्चय पनि नेपाल र भारतबीच टुटाउनै नहुने मित्रवत सम्बन्ध छ । नेपालले भारतसँग लडेर सक्दैन । समस्याको हल कूटनीतिक नै खोज्नुपर्छ । र, यति भन्दैमा आफ्नो नागरिक मारिदा किन मारिस् ? भन्न नसक्नु सरकारको लाचारी हो । बाह्य देशका सुरक्षाकर्मीले  आएर जनता मार्दा पनि सरकारले त्यसको प्रतिकार, प्रतिवाद गर्दैन भने त्यो सरकार हुनु र नहुनुमा कुनै फरक रहँदैन । त्यस्तो देशको नागरिक नरहनुको गर्व रहँदैन । कोही रिसाउलान् भनेर सरकार त्यो हदमा कमजोर देखिनुहुन्न जसले नागरिकलाई आफ्नो देशप्रति नै हीनता उब्जिओस् । सम्बन्ध कहिल्यै एकतर्फी हुन्न । सम्बन्ध बिग्रने डरले उताबाट गोली ठोक्दा यताबाट कडा विरोध गर्दै विज्ञप्ती ठोक्न नि हिच्किचाउनु अति लाचारीपन हो ।
अर्का खाले अति छन् जो देशको नेपाल भारतको हजारौं किलोमिटर लामो खुला सिमानामा ट्रम्पले मेक्सिकोको सिमानामा भनेजस्तै पर्खाल लगाउनुपर्छ भन्ने । कञ्चनपुर गोलीकाण्ड सिमानामा पर्खाल नलगाएका कारण भएको होइन । यो भारतीय ज्यादती र हेपाहा प्रवृत्तिका कारण भएको हो । भारतको नेपाललाई जे गर्दा नि हुन्छ भन्ने मनोवृत्तिका कारण भएको हो । यो उसको नेपाल कमजोर छ भन्ने सोचाइका कारण भएको हो । निश्चय पनि भारत सामरिक रुपमा हामीभन्दा धेरै बलियो छ । तर, हामीलाई उसले कमजोर देख्नु हामी सामरिक रुपमा कमजोर देखेर भन्दा नि हाम्रो आत्मविश्वस कमजोर देखेर हो । शस्त्र, अस्त्र केवल साधन मात्र हुन् । लड्ने भनेको आत्मविश्वास नै हो । मूल कुरा हाम्रा शासक, नेतृत्वलाई भारतीय ज्यादतीको विरोध गर्दा नि आकाश खस्दैन भन्ने आत्मविश्वास नै छैन । अहिलेको विश्व चिनियाँ ‘मिङ’कालीन विश्व होइन ताकि देश बचाउन ग्रेट वाल बनाउन परोस् । अहिले त हेपाहा छिमेकीलाई कूटनीतिको पर्खाल देखाउन सक्नुपर्छ । पर्खाल लगाएर आत्मसुरक्षा खोज्नु सुरक्षा होइन, आत्मविश्वास हीनताको प्रदर्शन हो । मान्छे त ढाल्न आँट गर्नेलाई ढुंगा इँटाको पर्खाल के ठूला कुरा । बरु सीमामा पर्खाल लगाउने शक्ति देशको तीव्र आर्थिक विकासमा लगाउन सके ।  हामी भारतले हाम्रो घाँटी न्याक्ने बस्तुहरुमा आत्मनिर्भर हुन सके । हाम्रो उत्पादन बढाई भारतलाई नै हामी निर्भर बनाउन सके । उसलाई गतिलो झापड दिन सक्छ नेपालले । सुरक्षा पर्खाल लगाएर हुन्न आफू बलियो भएर हुन्छ । सीमामा पर्खाल लगाउने कुरा अति भावुकतासिवाय केही होइन । पर्यटनमा सम्भावना रहेको मुलुकमा अर्बमाथि जनसंख्या रहेको मुलुक सीमा खुला सिमाना हुनु दुर्भाग्य नभई सौभाग्य हो ।
अर्काखाले सनातन अति छन् मुलुकमा– जो भारतीय अभिनेताले नेपालबारे नराम्रो टिप्पणी ग¥यो भनेर आफ्नै मुलुकका सिनेमा हल तोडफोडमा उत्रिन्छन् । आफ्नै देशका दाजुभाइमाथि कुटपिट गर्छन् । इराकमा आतंकवादीले नेपाली मार्दा यहाँका मेनपावर कम्पनीहरु तोडफोडमा निस्किन्छन् । मस्जिदमाथि आक्रमण गर्छन् ।  बिस्तारवादको विरुद्धमा आफ्नै सडकका रेलिङ भाँच्छन् । यस्तै सनातनी अतिको नेतृत्व यतिबेला विप्लवजीले गरे । कञ्चनपुर घटनाको विरोधमा आफ्नै देश बन्द गरे । र, आफ्नै देशका सडकका सार्वजनिक यातायातमा आगजनी गरेर भारतको मेख मारे ।
साँच्चै नेपालभित्रै यस्तै अनेक अतिले त बाहिरिया मौलाइरहेको छ ।

Comments

Popular posts from this blog

'सरी ! योर ट्रान्जेक्सन ह्याज विन टर्मिनेटेड !'

रुम नम्बर ट्वान्टी फाइभ