त्यो २ मिनेट
भन्थे -"भूकम्प आएसी टेबलमुनी लुक्नु पर्छ । तकिया, हात वा झोलाले टाउको जोगाउनुपर्छ ।"
कहिलेकाहीँ साना तिना भूकम्प आउथे, गैहाल्थे । टेबलमुनि लुक्न कहिल्यै नभ्याइने ।
लाग्थ्यो - "यत्रो ज्ञान कहिल्यै प्रयोग गर्नै पाइन्न कि के हो ?"
०७२ बैशाख १२ को कुरा हो । खाना खाइवरी बिस्तारामा उपरखुट्टी लाएर फेसबुक ट्विटरतिर उखानटुक्का हाल्दैथिएँ । खाट हल्लियो । जुरुक्क उठेर बसेँ । हल्लिन छोडेन । "भूकम्प आएछ कि क्याहो ?" भनेर सोच्दै गर्दा कम्पन तेज भो । घट्याङ घट्याङ झ्याल नि बज्न थाल्यो ।
आज चै भूकम्प नसकिदै टेबलमुनि लुक्छु भनेर टेबलतिर लागेँ । भूकम्प आएको भन्दा नि डर टेबलमुनी नपुगी भूकम्प सकिन्छ कि भन्ने थियो । टेबलमुनी छिरिसक्दा ढुक्क र आनन्द महसुस भयो । जीवनमा सिकेको ज्ञान आज प्रयोग गर्न पाइयो भन्ने भो । बडा मजा आयो ।
तर हल्लिन छोडेन । हल्का डर लागेर आयो । अब हातले टाउको छोपेर गुडुल्केर बसेँ । यसपाली भने सारा ज्ञान प्रयोग भो । अब तकिया नि ल्याएर टाउको जोगाउनु पर्छ भन्ने भयो । बल्ड्याङ खाइ खाइ गएर तकिया ल्याइयो । टाउकामा माथी राखियो । तर भुकम्प रोकिएन ।
भूकम्प नरोकिएसी मनकम्प सुरु भयो ।
सोचेँ -अब चै बिताउला जस्तो छ ।
कम्पन कहिले दायाँबायाँ त कहिले तलमाथी हुँदै ताल तालको हर्कत देखाउँदै थियो । अब आँखा पर्यो भित्तामा भित्तो त झन ढलकढलक ढल्किदै थियो । त्यो क्षण साक्षात् जेमराज सरसगँ लुकामारी खेले झैँ लाग्यो । मानौ कि जेमराज भित्ता ढल्काइ ढल्काइ खोजिरहेछन् । देख्यो कि इहलिला समाप्तम् भवन्ती ।
हैट ! आफ्नै आँखा अघि काल बज्जे ओहोरदोर गरेको पनि हेरेर बस्नुपर्ने । बाहिर मान्छेको चीत्कारले ठुलै उत्पात मच्चिएको महसुस गर्दै थिएँ । अब त रोकिएला भन्यो रोकिन्न । रोकिएला भन्यो रोकिन्न । घरी टेबल सरेर छेउ पुग्छ । सारेर बिचमा ल्याउछु । फेरि भित्ता तिरै पुग्छ । अन्तत: भूकम्प रोकियो ।
डरले थर्कमान भएर बरण्डामा निस्केको त बुङ्ग थुलो उडिरहेछ । ला ! काठमाडौं त सक्केछ ! अनि अन्त ?
Comments
Post a Comment