देशका दश औतार
हिसिला म्यामाले आवेशमा आएर अर्ध बेहोसीमा देश खारेजको नारा लगाएसी देशले फटाफट दश औतार लियो । औतारै बिच्छे नयाँ बेदव्यास शक्तिहरु प्रकट भएर ‘म्याम पुराण’ लेख्न थाले ।
सर्वप्रथम देशले ‘आदेश’ अवतार लियो । ऋषिमुनीहरुले श्लोक हाले - “उहाँको बाणी देश नभई आदेश हो । उहाँले देश नभई आदेश खारेज गर्न माग गर्नु भएको हो ।”
अर्का ऋषिमुनीहरुले देशलाई अत्यादेश अवतारमा बर्णन गरे -” उहाँले ‘अत्यादेश खारेज गर !’ गर भन्नुभा’को हो । पुलिस प्रशासनले अत्याएकोले र उहाँ आत्तिएकोले अत्यादेशको ‘अत्या’ भन्न छुटाउनु भएको हो ।
अर्का ऋषिमुनीहरुको पुराणमा देश हत्यादेश अवतारमा आयो । भने - “उहाँले हत्यादेश खारेज गर भन्नुभा’को हो । सत्ता हत्याएरै खाने, कब्जा गर्ने हो भने चुनाव किन गर्नु पर्यो ? लोकतन्त्र किन ल्याउनु पर्यो ? त्यसैले जालझेलले सत्ता हत्याउने हत्यादेश खारेज गर्नपर्छ । “ यो माग छ ।
देशले हत्यादेश -२ अवतार लियो । मुनिबरहरुले श्लोक हाले -” माओवादी शान्ति प्रक्रियामा आइवरी त्यहि पनि फुटीवरी नयाँ शक्ति भैसक्यो । त्यसैले हत्या-हिंसाको उच्चारण गर्न हुन्न थियो । त्यसैले हत्यादेशको हत्यालाई छोडेर भन्दा ‘देश’ मात्रै भएको हो ।
त्यसपछि देश मतादेश अवतारमा प्रकट भयो । पुराणकारले भने - “उहाँले त मतादेश खारेज खारेज गर भन्नुभा’को हो । जनादेश र मतादेश फरक कुरा हो । जनादेश लिन मतादेशलाई आधार मान्नु हुन्न । उहिलेका मतादेशले संसदमा रहेकालाई मात्रै किन चुनाव चिन्ह ? यस्ता मतादेश खारेज गर भन्नुभाको हो । मतादेशको ‘मत’ फुंदै षडयन्त्रकारी भएकोले नारा लगाउँदा मत माता लुक्यो, देश मात्रै फुक्यो ।”
अर्को पुराणमा देश मनादेश बनाइदिए ! भने - “मनोमानी चल्छ यसरी ? मनादेश खारेज गर !” भन्ने माग राख्नु भएको थियो उहाँले । तर भन्दा ‘मन’ मनमै रह्यो । आवाजमा देश मात्रै निस्क्यो । एवम् रितले देशले अनेक अवतार लिंदै गयो । अन्ततोगत्वा दशौ अवतारमा हिसिला म्याम स्वयम् आएर देशलाई देशकै अवतारमा फर्काउनु भयो । देशले पनि उहाँको अर्धबेहोसीको चाल पायो र पुरानै अवस्थामा फर्किंदा भए ।
Comments
Post a Comment