जनताको लागि
कहिलेकाहीँ झ्याप्प नेताजीहरू सम्झिइन्छ । चल्दाचल्दैको मन टक्क रोकिन्छ । एकलट सोचिन्छ— हैट ! उहाँहरू जे गरे पनि हामी जनताकै लागि गर्नुहुन्छ ।– उहाँहरू खानुहुन्छ, जनताकै लागि ।
– बस्नुहुन्छ जनताकै लागि ।
– सुत्नुहुन्छ जनताकै लागि ।
– उठ्नुहुन्छ जनताकै लागि
– उठेर फेरि खानुहुन्छ, जनताकै लागि ।
– सुत्नुहुन्छ जनताकै लागि ।
– उठ्नुहुन्छ जनताकै लागि
– उठेर फेरि खानुहुन्छ, जनताकै लागि ।
उहाँहरूका निम्ति व्यक्तिगत भन्ने कुरै हुन्न । जे हुन्छ, सबै जनताकै लागि हुन्छ ।
धर्मात्माहरूले जे छ र जे गरिन्छ, ती सबै प्रभुकै लागि र प्रभुकै इच्छाले गरिन्छ भने झैं नेतात्माहरू नि जे छ र जे गरिन्छ, ती सबै जनताका लागि गर्छन् र गरियो भन्छन् । कहिलेकाहीँ त एक जनताको नाताले उनीहरूअघि प्रत्यक्ष भएर ‘म तिमीहरूको भक्तिबाट प्रसन्न भएँ, के बर माग्छौ माग’ भनुम् कि झैं लाग्छ । पछि यसो सोच्छु— उनीहरूले कहाँ बर माग्छन् त ! भोट पो माग्छन् ।
धर्मात्माहरूले जे छ र जे गरिन्छ, ती सबै प्रभुकै लागि र प्रभुकै इच्छाले गरिन्छ भने झैं नेतात्माहरू नि जे छ र जे गरिन्छ, ती सबै जनताका लागि गर्छन् र गरियो भन्छन् । कहिलेकाहीँ त एक जनताको नाताले उनीहरूअघि प्रत्यक्ष भएर ‘म तिमीहरूको भक्तिबाट प्रसन्न भएँ, के बर माग्छौ माग’ भनुम् कि झैं लाग्छ । पछि यसो सोच्छु— उनीहरूले कहाँ बर माग्छन् त ! भोट पो माग्छन् ।
हाम्रा नेताहरू सत्ताप्राप्तिको सपना देख्छन्, जनताको लागि । बकवास माग राखेर प्रक्रिया अवरुद्ध गर्छन्, जनताको लागि । एकै शब्दमा कुरा नमिलेर आफ्नो जुँगे शान राख्न महिनौं मुलुकलाई अनिर्णयको बन्दी बनाउँछन्, जनताको लागि । आफ्ना साना माग पूरा गराउन सडकमा टायर बालेर सासै फेर्न नसक्ने गरी उकुसमुकुस गराइदिन्छन्, जनताको लागि ।
कालोबजारी र तस्करीलाई बढावा दिन्छन्, जनताको लागि । नातावाद, कृपावादलाई मलजल गर्छन्, जनताको लागि । अराजकतालाई हलक्कै बढाउँछन्, जनताकै लागि ।
यसरी हाम्रा नेताहरू दिनदिनै जनतालाई केही गर्नका निम्ति सोचमग्न छन् । उनीहरू जनताको लागि केही गर्न अहोरात्र खटिएका छन् । यसरी खटिँदा कहीँ कतै गल्ती, कमजोरी पनि हुन सक्छन् । तर, त्यो उनीहरूले आफ्नो लागि गरेका होइनन् । जनताको लागि गरेका हुन् । सुकर्म, कुकर्म जे छ, सब उनीहरूले जनताका लागि गरेका हुन् ।
मानौं कि तपाईं कुनै रात्रि र दिवाभोजमा नेताज्यूसँगै भोजन गर्ने अवसर पाउनुभो । र, उहाँले थपी–थपी उपद्रै खानुभो । उहाँको ऐतिहासिक खुवाइप्रति अचम्मित हुँदै तपाईंले सोध्नुहोला, “हैन ए नेताज्यू ! तपाईंले त खाना पनि बब्बाल खानुभो नि त !”
नेताज्यूबाट पक्कै जवाफ आउँछ, “क्यार्नु त ! अब आफ्नो लागि भए त सानो एक प्लेट भए नि पुग्थ्यो । आफू त जनताको लागि खान्छु खाना पनि । ती भोका, नांगा जनतालाई सम्झन्छु, झन्–झन् बढी खान्छु । अब जनताको लागि पेट भर्न परेपछि अलि बढी त खाइन्छ नै ।”
अझ नेताज्यूको मुड रहेछ भने त थप्नुहोला, “खानामात्र धेरै खानुभयो भन्नुहोला । त्यो हैन । म त लुगा नि साह्रै बाक्ला र महँगा लगाउँछु । यी मेरो ज्याकेट हेर्नुस् न, ठ्याक्कै एक कुरेत बाक्लो छ । यो कोटको मात्रै झन्डै एक लाख पर्या छ । के गर्नु ! बाटोमा जाडाले लुगलुग काँपेका जनता देख्छु । शीतलहरले कठ्यांग्रिएर मरेका ती गरिब निमुखा जनता सम्झन्छु । भक्कानो छुटेर आउँछ । साह्रै भावुक हुन्छु । मनले मान्दैन अनि लगाउँछु बाक्ला र महँगा लुगा । यो सिजन यस्तै छ । पानी नै परेको बेला मात्र हो, नत्र गर्मीले हपहपी हुन्छ । तैपनि बाक्ला कपडा लगाउँछु । बाक्ला कपडाले अलि गर्मी त हुन्छ तैपनि जनताको लागि हल्का गर्मी पनि सहनुपरेको छ ।”
मानौं नेताजी सुत्दा लास्टै घुर्नुभो । घरका मात्र होइन, छिमेकका मानिससमेत सुत्न सकेनन् । बाघै कराएको हो कि भनी टोलभरिका कुकुर भुकेर लास्टै गरे । अति भएसी छिमेकीले कम्प्लेन गरे, “हैन ए नेताज्यू ! तपाईंले त घुरेर लास्टै गर्नुभो नि ! यो त अत्ति भो है ! यसो गर्न त भएन नि ।”
नेताज्यूले भन्नुभो, “धत् ! किन नघुर्ने ? घुर्छु ! नघुरी हुन्न । थोडी मैले आफ्नो लागि घुरेको हुँ र ? मैले त जनताको लागि पो घुरेको ।”
मानौं एकदिन नेताज्यूले सार्वजनिक स्थानमा धूमपान गर्नुभएछ । एकछिन त सहेछन् वरपरकाले । जब एउटा चुरोट सिध्याइसकेसि अर्को चुरोट सल्काउन तम्सेछन्, तब एकजनाले मुख फोरेर भनेछन्, “हैन ए नेताज्यू ! यो सार्वजनिक स्थानमा धूमपान गर्नुभन्दा ऊ त्यो स्मोकिङ जोनमा गएर धूमपान गर्न मिल्दैन ?”
नेताजीले भन्नुभएछ, “मिल्दैन । कहाँ मिल्छ ? मैले आफ्नो लागि धूमपान गरेको हुँँ र स्मोकिङ जोनमा गएर चुरोट खान ? मैले त जनताको लागि धूमपान गरेको । यहीँ खान्छु । यहीँ खाए पो जनताले यसको असर प्राप्त गर्न सक्छन् । चुरोट किनेर खान नसक्ने जनताले क्यान्सरबाट बञ्चित हुन नपरोस् भनेर मैले यसरी सार्वजनिक स्थानमा धूमपान गर्ने गरेको छु ।”
मानौं एकदिन नेताजी फिलिली अवस्थामा भट्टीमा भेटिएछन् । नेताज्यू जस्तो प्रतिष्ठित व्यक्ति यसरी भट्टीमा भेटिँदा धेरैले जिब्रो टोके । अत्यमा एकजना भलाद्मीले सोधे, “हैन ए नेताज्यू ! तपाईंजस्तो मान्छे यसरी भट्टी पसेर फिलिली हुन हुन्छ ? यो त मुलुककै बेइज्जत भो नि !”
नेताजीले हिक्क गर्दै भन्नुभो, “मलाई पिउनुमा खासै टेस छैन यार । यो सब जनताको लागि पिएको हुँ । जनताले दुःख पाएको देख्दा, उनीहरूको गरिबी र अभाव देख्दा मन त्यसै–त्यसै मन भक्कानिएर आउँछ । साह्रै पीडा भएर आउँछ । त्यसैले पीडा भुल्न पिउने गर्छु । यो सब जनताको लागि हो ।”
यहाँ नेताहरूले गर्ने स्वार्थसिद्धीका सबै कर्महरू जनताका लागि हुन् । सुकर्म, दुस्कर्महरू सब जनताका लागि हुन् । नेताका सबका सब कार्यहरू जनताका लागि हुन् । सबका सब सुपत्रो, उपद्रो हाम्रा लागि गर्ने नेताहरूलाई लोक, परलोक दुबैमा येश, आराम मिलोस् !
Comments
Post a Comment