सडक सुधार्ने काइदा

हामीले पटक–पटक टाउकामा हात लगाउँदै खुइय गर्ने अनेकौं कारणमध्धे एक कारण हो- सडक । सरकारजी, सडक विभागजी अथवा योजना बनाउने मुख्य जिम्मेवारहरु निरन्तर सडक व्यवस्था राम्रो पार्न कम्मर कसेर लागेको भए पनि त्यही कस्सिएको कम्मरमै अल्झिएका छन् । कम्मर कसुवाहरु नअल्झिऊन् पनि कसरी ? उपचार गतिलो भए पो अस्तव्यस्तता हटेर चुस्तता आओस् । फेरि गतिलो उपचार गर्नको लागि भिजन पनि त हुन पर्यो । भिजन नभएसि के लाग्यो ? त्यसैले मुलुक र मुलुकबासीले अझै दु:ख नपाऊन् भनेर २-३ घण्टा सोचेर केही भिजनहरु फुराएर मुलुकको नाममा अर्पण गरेको छु । 
बिरालो परिचालन ।
मंगलग्रहमा जान पृथ्वीबाट अन्तरिक्षतिर प्रक्षेपण गरिएको रकेट रोकिएला बरु, जेब्राक्रसिङअघि आइपुगेको सवारीसाधन रोकिन्न । बरु गति झनै बढ्छ । चोक-चोकमा यसरी ह्वात्तै गति बढ्ने सेता धर्सा कोरिदिँदा पैदालयात्रुहरु जोखिममा छन् र दुर्घटना बढाएको छ । त्यसैले सडक व्यवस्था सुधार्ने हो भने यी सेता धर्काहरु भसक्कै मेट्नुपर्छ र यसको सट्टा बिरालाहरु परिचालन गर्नुपर्छ । जब-जब सवारी साधन रोकेर यात्रुलाई जान दिनुपर्ने हुन्छ, फुत्त बिरालोलाई बाटो कटाइदिने । बिरालोको आँखा राति बल्ने भएको हुनाले यसले ट्राफिक बत्तीको काम पनि गर्छ र खर्चमा कटौती पनि हुन्छ ।   
'एस पार्किङ !'
जहाँ 'नो पार्किङ' लेखिएको हुन्छ, त्यहीँ पार्किङको भीड हुन्छ । जसले सडक अस्तव्यस्त बनाइरहेको छ । त्यसैले यसलाई 'नो पार्किङ' नलेखेर 'एस पार्किङ' लेख्दिने कि ? ह्या, यो  त पार्किङ गर्ने ठाउँ पो रहेछ, यस्तो ठाउँमा त के पार्किङ गर्नु भनेर नगर्लान् कि ? त्यति गर्दा नि पार्किङ गरिरहे भने त्यस ठाउँमा जेब्राक्रसिङ बनाएसि त हुइँक्याइहाल्छन् । यहि टिरिक 'चढ्ने र ओराली हाल्ने' भनेको बिसौनीमा नि लगाउन सकिन्छ । चढ्ने र ओराल्ने मात्र लेख्या भन्या ठाउँमा जेब्राको चित्र बनाइदिने । यो देखेसि त कुदाइहाल्ने हतार भैहाल्छ ।


राम नाम सत्य हो !
अर्को समस्या पैदल यात्रु पनि सवारी साधनवालाभन्दा कम्ता टिमुर्केका छैनन् । जहाँबाट पनि फुत्त-फुत्त बाटो काटिदिएका छन् । सरकारलाई सहिद घोषणा गर्दाको र १० लाख दिँदाको हैरान । जसरी जहाँ पायो, त्यहीँबाट बाटो काट्न निरुत्साहित गर्न अनेकौं प्रयत्न भएका छन् तर सफल भएका छैनन् । त्यसैले अचुक प्रभावकारी उपाय नलगाई यो क्रम रोकिन्न । अब उपायतर्फ लागम् । सडकका किनारतर्फका पहेंलो लाइन जो हुन्छन्, त्यहाँ 'राम नाम सत्य हो !' लेख्दिम् । भगवानको नाम नाघेर लु त कसैले बाटो काटून् त ! 
उल्टो संकेत
हामीलाई नियम तोड्नमा बडा आनन्द आउँछ । त्यसैले उल्टो संकेत कार्यान्वयन गरेर सुल्टो नियम बसाल्न सकिन्छ । जस्तो कि- रोक्नुपर्ने ठाउँमा 'गुटुङ्टुङ कुदाउनोस्' भन्ने वा 'रोक्दै नरोक्नुस्' भन्ने । दायाँ मोड्नु पर्ने ठाउँमा 'बायाँ मोड्नोस्' भन्ने, बायाँ मोड्नुपर्ने ठाउँमा 'दायाँ मोड्नोस्' भन्ने । 'आकासे पुलमुनिबाट हिँड्नोस्' भन्ने । 'बाइक फुटपाथबाट मात्र कुदाउनोस्' भनेर बोर्ड टाँस्ने ।
भ्यागुताको बिहे
हामी सडकमा खाल्डाखुल्टी, हिलो, चिप्लो, ताल-तलैया र धूलो भएर हैरान छौं । यस्तो अवस्थामा या त हामी धूलोले नचिन्ने भएर घर पुग्छौं । या त सवारीधनीले सवारीसाधनमार्फत पानी उछालेर निथ्रुक्कै नुहाइदिएर घर पठाइदिन्छन् । घर जाँदा पनि नचिन्ने अवस्थाको अन्त्य गर्न के गर्ने ? कुनै उपाय त लगाउनै पर्यो । तर, खाल्डा सम्मिएर पिच नभई समस्या समाधान भए पो ! के बर्खा लाग्ला अनि बजेट सक्याउन पिच गर्नेहुँदी सडक पिच होला भनी कुरेर बस्ने ? यसरी बस्यौं भने त आजभोलि घरमा नचिन्लान् । पर्सीदेखि त ऐना हेर्दा नि ऐनामा किच्च हाँस्ने को भनेर सोधिएला भन्ने डर ।
त्यसैले बर्खा लाग्नुअघि नै सडक सम्याएर पिचाउनु बुद्धिमानी ठहर्छ । तर, सम्बन्धित निकायलाई राउँतो चलाएर सडक निर्माणतर्फ चासो लगाइदिने कसरी ? हो, ठ्याक्क लाएर बुद्धिको प्रयोग गर्ने ठाउँ यही हो । सर्वप्रथम के बुझ्न जरुरी छ भने- आखिर सडक पिच के करणले गरिन्छ ? सबैलाई थाहा भएको कुरा हो । सडक पिच पानी परेसि गरिन्छ । बर्खा लागेको कारण गरिन्छ । किनभने बर्खा लागेसि बजेट सिध्याउने चटारो हुन्छ । त्यसैले जसरी पानी बर्सन थालेपछि किसान हलो बोकेर खेततिर लाग्छन्, त्यसरी नै सरकारी अलकत्रेहरु अलकत्रा बोकेर सडकतिर लाग्छन् । त्यसैले सडकका खाल्डाखुल्टी पुर्नु छ, पिच गराउनुछ छ भने बर्खा लगाउन आवश्यक छ । बर्खा लगाउन पानी पार्नु आवश्यक छ । र, हाम्रो समाजमा पानी पार्न भ्यागुताको बिहे गराइदिने चलन उहिल्यैदेखिको हो । त्यसैले दिनका दिन भ्यागुताको बिहे गराइदिम्, दिनका दिन पानी पार्दिम् र सडक पिच गराम् ।

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ