लकडाउन एक्सप्रेसन !


देश लकडाउनमा थियो । कोभिड–१९ नामक एक अदृश्य शत्रुको त्रास र भयले हामीलाई लखेटिरहेको थियो र छ । ढोका थुनेर घरभित्र कैद थियो दुनियाँ । जताततै ‘ज्यान बचाऊ’ मिसन सुरु भएको थियो । त्यो कुनै जोस उत्पन्न गर्ने समय थिएन । रोगको भयले घरभित्र थुनिँदा कुनै रोष उत्पन्न हुन सक्दो रहेनछ । तर, अनुभूतिको सामान्य ग्राफमा कार्टुन बन्दैन । यो कि त जोसमा आउँछ, कि त रोषमा ।

घरभित्रै कैदी हुँदा अनुभूति बाहिर निस्किन सकेका थिएनन् । कहिलेकाहीँ निस्किँदा त्यही अदृश्य भाइरस कल्पनामा सदृश्य भएर अगाडि आउँथ्यो अनि अनुभूति अत्तालिँदै भित्र छिथ्र्याे । अनुभूति त्यतिवेला कि त जमेर ठोस बन्थ्यो, कि त पग्लिएर तरल । त्यसलाई सिर्जनात्मक आकार दिन हम्मे थियो । अझ त्यसलाई हास्यव्यंग्यको प्राण भरेर कार्टुनको रूप दिन असजिलो मात्र होइन, मुस्किल नै थियो । 

‘महामारीसँग जुध्न सजिलो छैन । हामीले केही समयका लागि आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरुरी भएको छ । यसले जनजीवनमा केही असहजता ल्याउन सक्छ, हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ,’ लकडाउनको केही दिनअघि प्रधानमन्त्रीले टेलिभिजनको पर्दाबाट देशवासीलाई सम्बोधन गर्दै यस्तो भनेका थिए ।

कोभिडविरुद्धको लडाइँमा उनी हाम्रा कमान्डर थिए । कमान्डरको आदेश थियो, ‘सम्भावित संक्रमणलाई परास्त गर्न हामीसँग यसबाहेक अर्काे विकल्प छैन । तसर्थ तपाईंहरुले  भरोसा गर्नुभएको प्रधानमन्त्रीको हैसियतले म आग्रह गर्छु । आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्दै घरभित्रै बसौँ ।’ 

दिमागमा एउटा दृश्य नाच्न थाल्यो । मानिसको भिड थियो । भिडमा भाइरस मान्छेकै रूपमा पस्छ । भिडको बीचबाट सिङ नै सिङ भएको त्यो डल्ले धतुरे जन्तु आफ्नो रूपमा प्रकट हुन्छ । र, मान्छेमाथि आक्रमण सुरु गर्छ । कमान्डरकै लाइनबाट कार्टुन क्यारेक्टरहरू बोल्छन्, ‘को–भिडबाट बचौँ’ वास्तवमा ‘भिड’ कोभिडको मानव प्रसार विभागको कोअर्डिनेटर जस्तो थियो । कार्टुनले आकार लियो ‘को–भिडबाट बचौँ !’

कार्यालय जान छोडिएको थियो । विनाकसुर घरभित्रै कैद हुनुपरेको थियो । जिन्दगीमा कहिल्यै नगरिएको यो अभ्यास साँच्चै पट्यारिलो थियो । विरक्तिलो, दिग्दारिलो थियो । भाइरससँग एक प्रकारको रोष बढ्न थाल्यो । हामी यसरी घरभित्र पट्यारलाग्दो दैनिकीमा बाँच्दा भाइरसचाहिँ बाहिर के गर्दै होला ? पक्कै पनि मान्छेको अनुपस्थितिले आकुलव्याकुल भइरहेको होला । 

मर्निङवाकबाट सुरु हुने दैनिकी पूरै परिवर्तन भएको थियो । छिटै उठेर केही गर्नु थिएन । जाँगर लाग्दा छतसम्म पुगिन्थ्यो । नलाग्दा ओछ्यानबाटै मोबाइल स्क्रिन स्क्रोल गर्दै एक–दुई किलोमिटर यात्रा गरिन्थ्यो । केही दिन परिकारका बास्नाले इन्स्टाग्राम, फेसबुक हरर भइरहेको थियो । सोसल मिडिया कोरोना पोस्टले भरिएका थिए । घरै बसौँ, हात धोऔँदेखि घर बस्दा छताछुल्ल दिक्दारी पोस्टहरू कहिले घाँटीघाँटी आउँथे त कहिले चुर्लुम्म पार्थे । लाग्थ्यो, घरै बस्नुजस्तो कठिन काम केही होइन । जिन्दगीको सबैभन्दा ऐंठनी जटिलता यही होला । 

एउटा कार्टुनिस्टमाथि घरिघरि उही प्रश्न दोहोरिन्छ । किन आलोचना मात्रै ? सरकारले राम्रो काम गरेको देखिन्न ?

‘झन् नयाँ’का लागि एक आर्टिकल आयो । प्रसंग सडक बालबालिकाको थियो । ती अनाथहरूका घरबार थिएनन् । ओत लाग्ने छानो थिएन । यो भयानक त्रासले लखेट्दा फुत्त पस्ने वास थिएन । ‘घरै बस । हात धोऊ । सुरक्षित बस ।’ कुनै पनि मापदण्ड पूरा गर्ने सामथ्र्य थिएन, उनीहरूसँग । 

सडकपेटीमा झुत्रे कपडा लगाएको बालक बसेका छन् । अनुहार देख्दै नियाउरो र मायालु थियो । कालो भित्तामा खरीले घरको चित्र बनाइएको थियो । वरिपरि धुवाँ रंगका कोरोना भाइरस सिम्बोलहरू भन्किरहेका थिए । त्यो एक दृष्टान्त चित्र थियो । व्यंगचित्र थिएन । रोदन चित्र थियो । 

यसअघि लाग्थ्यो, कोरोना कहरका कठिनाइ मान्छेका घरभित्र मान्छेसँगै घुमिरहेका छन् । थुनिइबस्दाको त्यो समय विरक्ति बनेर न्याकी मात्रै रहेको छ । त्योभन्दा ठूला कठिनाइ त अभाव बनेर मान्छेलाई सडकमा लछारपछार गर्दै पो रहेछ । सडकमा सरकारको एकलौटी उपस्थिति छ । आस थियो नै, यो वेला त पक्कै देख्नेछ, अभावको यो अत्याचार । यस्तोमा त पक्कै नि हेरी बस्दैन सरकार ।

सीमानाका सिल भयो । रोजगारीका लागि भारत पुगेका नागरिकहरू महामारीको त्रासले स्वदेश फर्किन चाहन्थे । सरकार सीमामा लाठा लिएर बस्यो, ‘खबरदार ! देश छिर्लास् !’ पारी बसौँ महामारीको डर । वारि आऔँ सरकारको डर । परदेशबाट फर्किएकाहरू दुवै त्रासबीच महाकालीमा जिन्दगीको सम्भावना खोज्दै हामफाल्छन् । पौडिँदै देश छिर्छन् । र देश, स्वागतमा आफ्ना नागरिकलाई चरीनांगै बनाएर सहर घुमाइदिन्छ । 

यता प्रधानमन्त्री सीमामा अड्किएका आफ्ना नागरिकप्रति उखुमै चिन्तित छन् । भारतीय प्रधानमन्त्रीसँग उनको फुनमा सुखदुःखका कुरा भइरहेको हुन्छ । सुनिन्छ, उनले त भारतमा रहेका नागरिकहरूलाई उतै होटेलमा बस्ने व्यवस्था मिलाएका छन् । तर, नागरिक सीमाक्षेत्रमा कि त भेडाबाख्राझैँ थुनिएका छन्, कि त आकाशे छानामुनि बसेर तारा गनिरहेका थिए ।

तारा माने स्टार । होटेल पनि ‘मिलियन स्टार’ नै थियो । उताका प्रमका र यताका प्रमका गजबकै मिल्ती थियो, जुम्ल्याहा दुई भाइहरूझैँ । सोच र विचारमा त रंगीन फोटोकपीस्तरको समानता । उता दियो बल्थ्यो । यता पनि बल्थ्यो । उता थाल ठटाउन आह्वान हुन्थ्यो । यता नाङ्लो ठटाउँदै राष्ट्रगान बजाउन आह्वान हुन्थ्यो । कोरोना भगाउने यो साउथ एसियन स्टाइल अद्भूत थियो । ‘भागी जा कोरोना ! स्याकारालाबारापारा फ्वाँ !’

संक्रमितका संख्या निरन्तर बढिरहेको छ । अत्यावश्यक स्वास्थ्य सामग्रीको समेत अभाव छ । स्वास्थ्यकर्मीले पिपिईसमेत पाएका हुन्नन् । स्वास्थ्यमन्त्री इरिटेड छन् । खुरुखुरु उपचारमा नलागेर केका पिपिई र सिपिई भन्ने उनको आक्रोश छ । भन्छन्, ‘किन चाहियो पिपिई ? भात पकाउन ?’

लकडाउनबीच सहरमा मजदुर भोकै मर्नुपर्ने अवस्था आउँछ । जीविकाको खोजीमा सहर पसेकाहरू जीवनको खोजीमा सयौँ किलोमिटर पैदल हिँड्दै गाउँतिर लाग्ने अवस्था आउँछ । मनमा जेबी टुहुरेको गीत ‘लाउड’ हुन्छ, ‘लाखौँका निम्ति उजाड यो देश, मुठीभरलाई त स्वर्ग छ ।’ 

कार्टुन चरित्रहरू फ्रेममा आउँछन् । 

नागरिक भन्छन्, ‘देश छिर्न पाऊँ सरकार !’

प्रधानमन्त्री भन्छन्, ‘फोनको घन्टी बजाउँला ।’ 

मजदुर भन्छन् ‘भोकै मारिने भो सरकार !’

प्रधानमन्त्री भन्छन् ‘शंख बजाउँला ।’

स्वास्थ्यकर्मी भन्छन्, ‘पिपिई पाऊँ । ज्यानकै जोखिम भो !’ 

प्रधानमन्त्री भन्छन्, ‘ठीक छ । राष्ट्रिय गान बजाउँला ।’

बजाउने काम अलि बढी नै भयो । अरू त अरू स्वास्थ्य सामग्री खरिद गर्दा पनि सकेजति बजाएकै कुरा आयो । बिहानै पत्रिकामा रक्षामन्त्रीको अन्तर्वार्ता आयो । अनियमिततासम्बन्धी प्रश्न अनेक रहेछन् । उत्तर ट्वाक्क छोटो–छरितो र लगभग सबै उही थिए, ‘स्वाथ्य सेवा विभागको महानिर्देशकलाई सोध्नोस् ।’  एयरपोर्टमा स्वास्थ्य सामग्री विमान रोकिन्छ । पत्रकार सोध्छन् ‘एन ९५ मास्क त २८० पथ्र्याे । किन यति महँगोमा ल्याएको ?’ जिम्मेवारले जवाफ दिन्छन्, ‘त्यो लाउने मास्कको मूल्य हो । हामीले ल्याएको खाने मास्क !’

माथिका दुई प्रसंग क्रमशः वास्तविक घटना र कार्टुन हो । गैरजिम्मेवारीपनले एक हद पार गरेपछि कार्टुन र वास्तविक घटनाको भेद मेटिँदो रहेछ । जनजीवनमा रोग, भोक र त्रासले नृत्य गरिरहेको थियो । सरकारमा बा, छोराहरू र आसेपासेको नाच थियो, ‘ताराबाजी लै लै, कोरोना आयो घोडा । ओम्नी आइन् डोली । कमिसन ल्याइन् सोली !’ यो कार्टुन थियो । 

कसैको व्यक्तिगत जीवनमा मेल खान गएमा त्यो वास्तविकता हुनेछ । संयोग हुनेछैन । सामग्री खरिद प्रक्रिया विवादित भएसी यो कामको जिम्मा सरकार सेनालाई दिन्छ । त्यही दिन प्रधानमन्त्रीको सम्बोधन आउने हुन्छ । कर्नर किक कोलममा एक क्यारेक्टर प्रश्न गर्छन्, ‘आफैँ गर्ने कि सेनालाई दिने ?’

सम्बोधनमा प्रधानमन्त्री नागरिकलाई प्याकेज बोकेर आउँछन् । त्यही पनि रोजी–रोजी लिने गरी । सोध्छन्, ‘स्वतन्त्रता रोज्ने कि, जीवन ?’ भोकै बस्नुपर्नेको पेट यस्ता प्याकेजले भरिँदैन । गाउँ फर्किनेको ताँती लाग्छ । सरकारी अवरोध हुन्छ । लकडाउन थपिनै रहन्छ । 

लकडाउनकै भात खानोस् । लकडाउनकै दाल । लकडाउन र आलुको तरकारी बनाउनुस् । लकडाउन पिसेर अचार । लकडाउनमा बस्नुस्, लकडाउन ओडेर सुत्नोस् । सरकार च्याँठिन्छ, ‘सुन्नुभो ? घरै बस्नुस् !’ घर फर्किनेको ताँती रोक्दै भन्छ, ‘खबरदार ! घर नजानोस् !’

सरकारको पनि आफ्नै दुःख छ । दायाँ कोरोना भाइरस, बायाँ आलोचक मिडिया । माथि सोसल मिडिया, पाउतिर गाल मात्रै खुवाउने अरिंगाल । यति हुँदाहुँदै पनि सरकारप्रतिको विश्वास मरिसकेको छैन । महामारीसँग लड्न सरकारप्रतिको विश्वास आवश्यकता थियो । विलासिता थिएन । सरकारले केही त गर्छ । आस निर्विकल्प थियो । दुईतिहाइ प्राप्त ‘राष्ट्रनायक’ जस्तै । आखिर सरकारले गर्‍यो । यस्तो अवस्थामा पनि उच्च मनोबलका साथ दल फुटाउने अध्यादेश ल्यायो ।

राष्ट्रपतिले ढिलासुस्तीलाई खारेज गरिदिनुभो । विधायक तुरुन्त सदर भयो । घटना कार्टुनको कम्पोजिसनभित्र छिर्छ, प्रधानमन्त्री हाँडी फुटाइ खेल्दै हुन्छन् । हाँडी कोरोना भाइरस हुन्छ । आफ्नै प्रेसक्रिप्सनबमोजिम आँखामा मास्क लगाएका प्रधानमन्त्री अध्यादेशको लाठी उज्याउँछन् । आफैँलाई ठोक्ने डरले उनका सहयात्री अतालिन्छन्, ‘हाँडी यता हैन, कमरेड उता !’

भारत मिचिएको नेपाली भूमिमा सडकमार्ग बनाउँछ । जवाफमा नेपालले ती भूमि समावेश गरेर नक्सा पारित गर्छ । देश फेरि एकजुट हुन्छ । सरकारको चौतर्फी प्रशंसा हुन्छ । अब त कार्टुन पनि खुसीका आउन थाले । बजेटको तयारीमा रहेका अर्थमन्त्रीलाई कार्टुनका प्रधानमन्त्री भन्छन्, ‘विकास बजेट बढाउनुपर्छ । कालापानीको सडक पिच हान्नुछ ।’ 

 सूर्यबहादुर तामाङ र मलर सदाका स्केचहरू पटक–पटक कोरिए । तर, ती लाइनहरूले कार्टुनको आकार लिन सकेनन् । बन्ने आकृतिले पनि एउटा नमिठो भावुकता मात्रै दिइरह्यो । ती लाइनहरू यो समयको क्रूर इतिहासले यति नराम्रोसँग ध्वस्त पारेको थियो कि चाहेर पनि कम्प्लिट गर्न सकिन्नथ्यो ।

आसाको ग्राफ फेरि बढ्यो, अब त यो ताकत सम्पूर्ण रूपमा महामारी नियन्त्रणमा लाग्नेछ । तर, संक्रमण अझ बढ्न थाले । अव्यवस्थित क्वारेन्टाइनहरू संक्रमित उत्पादन गर्ने कारखाना हुन थाले । लकडाउनले तीन महिना नाघिसक्यो । यो अन्योलको तुवाँलो उघ्रिने कुनै छाँटकाँट छैन । यही अन्योलको कुहिरोबीच कीर्तिपुरमा सूर्यबहादुर तामाङको लास भेटिन्छ । कोही भोकै मर्नेछैन भनेर भोकैलाई खारेज गरिसकेको एक सूर्य सिंहदरबारमा दुईतिहाइको प्रचण्ड तापसहित उदाइरहेको थियो ।

भोकैले अर्का सूर्य कीर्तिपुरबाट अस्ताइसकेका थिए । सूर्य अस्ताइसकेको यो अन्धकारमा भोकैले सप्तरीको मलर सदाको मृत्यु आफ्नो खातामा प्रविष्ट गर्‍यो । घरि सूर्यबहादुर त घरि मलरका स्केचहरू पटक–पटक कोरिए । तर, ती लाइनहरूले कार्टुनको आकार लिन सकेनन् । बन्ने आकृतिले एउटा नमिठो भावुकता मात्रै दिइरह्यो । आफैँले कोर्न खोजेका ती लाइनहरू यो समयको क्रूर इतिहासले यति नराम्रो ध्वस्त पारेको थियो कि चाहेर पनि कम्प्लिट गर्न सकिन्नथ्यो । र, कहिल्यै नभुल्ने वाचासहित त्यसलाई त्यहीँ छोडियो ।

 सरकार छापेको चुच्चे नक्सा मै मख्ख थियो । संसद्बाट कोरोनाको अचुक ओखती आविष्कार भयो– बेसार । बेसारको घोषणासभामा आविष्कारकले कोरोनाले निम्त्याउने जोखिम नै खारेज गरिदिए । यो कोरोनासोरोना क्यै हैन । हाछ्युँ गर्‍यो । तातोपानी खायो खत्तम । प्रश्न उठ्यो, ‘कसले भन्यो ?’ ‘कन्फिडेन्स’ पाखुरा फुलाउँदै प्रत्यक्ष भयो, ‘मैले !’ 

यसैबीच आइसोलेसनमा राजु सदाको त्यतिवेलासम्म कोरोना नियन्त्रणमा १० अर्ब सकिसकेको यो देशको सिस्टमले जीवनजलसमेत नदिई तड्पाई–तड्पाई हत्या गर्‍यो । राजु सदाको स्केचमाथि बस् एक वाक्य आयो, ‘मानवता निषेधित क्षेत्र !’  राजु यो देशको वास्तविक नक्सा थियो । सिस्टमले त्यसलाई अतिक्रमण मात्रै होइन, ध्वस्तै गरिदियो । 

नेकपाभित्र विवाद उर्लिन थाल्यो । महामारीबाट ध्यान उता डाइभर्ट भयो । नेताहरूले पनि राम्रै बिजनेस पाए । उनीहरूको व्यस्तता बढ्न थाल्यो । छोड्नैपर्ने र छोड्दै छोड्दिनँ भन्ने मल्लयुद्धमा महिनौँ गुज्रियो । कार्टुनका लागि त विषयहरू मनग्गे आउन थाले । यिनै विषयमा अलमलिँदा महामारीसम्बन्धी विषय छुट्लान् कि भन्ने लाग्थ्यो । बेवास्ता बढ्यो । महामारीबारे उदासीनता बढ्यो । सचेत युवाहरू ‘इनफ इज इनफ’ भन्दै सडकमा उत्रिए । अनशन बसे । अवैज्ञानिक आरडिटी बन्द गराए । पिसिआर बढाउन बाध्य गराए ।

यता समाज, क्रूरताको प्रदर्शनमा हाम्रो सरकारी सिस्टमसँग प्रतिस्पर्धामा थियो । उच्च जातसँग प्रेम गरेकै निहुँमा रुकुममा नवराज विक र उनका साथीहरू कुटीकुटी मारिए । कोरोना लागेकै निहुँमा समाजले हेला मात्रै गरेन । संक्रमितको घरमा कोरोना संक्रमित भन्दै ब्यानर टाँस्नेदेखि बाँस तेस्र्याएर बाटो बन्द गर्नेसम्म हर्कत हुन थाले । कथित टोल सुधारकहरूले बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीलाई समेत छाडेनन् । 

बीचमा लकडाउन हट्यो । मान्छेका दैनिकीहरू केही सामान्य भए । कोरोना संक्रमणका वेगहरू तीव्र भए । सबै कुराका ओखती सन्चो भनेझैँ जिल्लास्तरमा निषेधाज्ञाका नाममा अर्काे संस्करण सुरु भयो । यो ‘सन्चो’ले संक्रमणको रफ्तार ब्रेक गर्न सकेन । बरु जनजीवनदेखि अर्थतन्त्रसम्म अझै बिसन्चो भए । र, अहिले जनजीवन सामान्य बनाउँदै कोरोनासँगै बाँच्ने अभ्यास गरिँदै छ । असहजताबीच पनि सहजता खोजिँदै छ । 

लकडाउनबीच सबै रोकिए । सबै ठप्प भए । धेरैका जिन्दगी रोकिए । सकिए । तर, हाम्रो सिस्टमको लुच्चोपनादेखि सर्वसाधारणप्रतिको छुचोपना रोकिएन । सडकमा हिँडेका मान्छेलाई नांगेझार पार्ने क्रम टुंगिएन । अदालतले पनि यो वेला राम्रै प्रस्तुति दियो । जघन्य हत्याका दोषीमाथि निगाह बक्स भयो । श्रीमान्को प्रहारले न्यायालय ढलेको देखियो । लकडाउनमा हुनुपर्ने कुराहरू सबै रोकिए, नहुनुपर्ने कुराहरू ‘सामान्य’ अवस्थामा झैँ चलिरहे । लकडाउनको इम्प्रेसन यही थियो । 

एउटा कार्टुनिस्टमाथि घरिघरि उही प्रश्न दोहोरिन्छ । किन आलोचना मात्रै ? सरकारले राम्रो काम गरेको देखिन्न ? देखिन्छ । सरकार बनेको राम्रै गर्न हो । मतदाताले चुनाव जिताएर पठाएको राम्रै गरेर देखाउन हो । त्यसैले राम्रो गर्नु अपेक्षित नै हो । कुनै अनौठो र उल्काको कुरा होइन । गर्नैपर्ने कुरा गर्दा प्रशस्ती गाइरहनुपर्ने, उठाइरहनुपर्ने कुरा होइन । उठाउनै परे पनि सरकारको आफ्नै आवाज ठूलो छ । उठाउनुपर्ने सानो र शून्य आवाज भएकाहरूको आवाज हो । राम्रो काम भएन, नराम्रै भयो भनेचाहिँ यो आश्चर्य र अनौठो हो । उठाउनुपर्ने कुरा यही हो । 

अर्काे कुरा आउँछ, किन सधैँ नकारात्मक ? कार्टुनजति सकारात्मक केही लाग्दैन । विकृति विसंगति र नकारात्मकतामाथि व्यंग्य गर्नु सकारात्मकताको पक्षपोषण गर्नु हो । कुरूपता औँल्याउनु सुन्दरताको खोजी हो । यी एक्सप्रेसनहरूले सधैँ सकारात्मकता, सुन्दरता र विकृति विसंगतिको सच्याइ खोजिरहेको हुन्छ ।

नयाँ पत्रिका  २०७७ असोज १० शनिबार ०७:५५:००

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ