वात्स्यायनको काग

 जुलाई २०, १९६९ । अमेरिकी अन्तरिक्षयान एपोलो–११ चन्द्र सतहमा अवतरित भयो । निल आर्मस्ट्रङ र एडविन ‘बुज’ एड्रिनलले चन्द्रमामा पदार्पण गरे । यता हामी ‘सोमदेव’लाई पृथ्वीबाट जल चढाउँदै थियौँ । उता निल र एडविनले एक बोतल पानी घटघट पिए र त्यहीँ ध्वार्र पारिदिए । यही संसारका कोही मानिसलाई चन्द्रमा पुग्न सम्भव भयो । यही संसारका हामी मान्छेलाई बिरामी पर्दा अस्पताल पुग्न असम्भव थियो । त्यसवेला रामकुमार पाँडेले एक साप्ताहिक पत्रिका चलाउँथे । त्यहाँ दुर्गा बराल अर्थात् वात्सायनले कार्टुन बनाए जहाँ एकजना मान्छेले डोकामा बिरामी बोकेर पहाडको उकालो चढिरहेको हुन्छ । डोकामा बसेको मान्छेले गोरखापत्र पढिरहेको हुन्छ । समाचारमा लेखिएको हुन्छ– ‘चन्द्रमामा मान्छे पुगे ।’ 

अर्को गोलार्धका मान्छे चन्द्रमातिर हुइँकिँदै गर्दा यो गोलार्धमा हामी डोकामा बिरामी बोकेर हइहइ गर्दै दुई चक्की ओखतीका लागि पहाडको उकालो चढ्दै थियौँ । उनीहरूको आकाशमा जूनतिर लम्केका अन्तरिक्षयान देखिँदा हाम्रा आकाशमा बिरक्तिलो आवाजमा ‘काँ–काँ’ गर्दै बरालिरहेका काग मात्रै थिए । त्यतिवेला काग आकाशमा देखिन्थ्यो । वात्सायनको कार्टुनमा देखिन्नथ्यो । कागको आफ्नै किसिमको जन्म छ । आफ्नै किसिमको इतिहास छ । जसरी वात्सायनको छ । उनका कार्टुनको छ । एप्पलभन्दा ‘साँच्चीकै स्याउवाला एप्पल कि फुनवाला एप्पल ?’ भनेजस्तै उनका कार्टुनका पाठकहरूलाई कागभन्दा ‘कौवावाला काग कि वात्सायनवाला काग ?’ हुन्छ । कार्टुनका पारखीहरूलाई वात्सायनको काग एक लोकप्रिय र मूल्यवान ब्रान्ड हो ।

२०२२ साल नयाँ सन्देश पत्रिकामा कार्टुन बनाउँदै गर्दा कार्टुनमा न त व्यावसायिकता थियो, न त उनलाई कार्टुनिस्ट भएको नै फिल हुन्थ्यो । पत्रिकाका सम्पादक रमेशनाथ पाण्डेको निर्देशनमा कार्टुन बनाउँदै गर्दा उनलाई टाइपिस्टवाला फिल आउँथ्यो । पोखरामा बरालसहित सरुभक्त, तीर्थ श्रेष्ठ भएर ‘प्रांगण’ नामको साहित्यिक त्रैमासिक निकाल्न थाले । कभरपेज र कार्टुनको जिम्मा बरालको थियो । आफ्नै ढंगले कार्टुन बनाउँदै गर्दा उनमा बल्ल कार्टुन बनाएको महसुस भयो । बल्ल उनलाई कार्टुनिस्ट नै भएजस्तो लाग्यो । 

अनि काग ? कागको जन्म वात्सायनको कार्टुनको व्यावसायिकतासँगै भएको पाइन्छ । उनको व्यावसायिकता सुरुवात नेपाली कार्टुनिस्टको व्यावसायिकतासँग जोडिन्छ । जो २०४६ सालको राजनीतिक परिवर्तनपछि सम्भव भयो । त्यसअघि नै वात्सायन जन्मिए । पञ्चायती निरंकुशता र अभिव्यक्ति स्वतन्त्रताप्रतिको अंकुशले दुर्गा बराललाई वात्सायन बनायो । पत्रकारिता र कार्टुनको व्यावसायिकतासँग आएको नयाँ प्रयोगले नेपाली कार्टुनमा नियमित र दोहोरिने पात्रहरू आउन थाले जसमा एक वात्सायनको काग हो । 

कागको जन्म

२०४६ सालको राजनीतिक परिवर्तनपछि कान्तिपुर, नेपाल समाचारपत्रजस्ता व्यावसायिक मिडिया हाउस खुले । कान्तिपुरको सुरुवातसँगै त्यसको सप्ताहान्त परिशिष्टांक ‘कोसेली’ पनि सुरु भयो । कोसेलीका संयोजक थिए नारायण वाग्ले । वात्सायन कान्तिपुरमा कार्टुन बनाउँथे । कार्टुन राजनीतिक विषयमा मात्रै बन्थे । कोसेलीमा पनि नियमित कार्टुन राख्ने कुरा भयो । वात्सायनले कार्टुन स्तम्भको शीर्षक फुराए, बसिबियाँलो । राजनीतिक विषयमा मात्रै कार्टुन बनाइरहेका उनले कान्तिपुरमा भन्दा फरक देखाउन कोसेलीमा सकेसम्म सामाजिक विषयमा कार्टुन बनाउने सोच राखे । तर, सामाजिक भनेर बनाएर मात्रै राजनीतिक र सामाजिक छुट्याउन हम्मे भयो । फरकपनको खोजीमा उनले कार्टुनमा एउटा नियमित पात्र राख्ने विचार गरे । तर, राख्ने के ? उनले धेरै अखबारका कार्टुनमा यस्ता पात्र देख्थे । उनले नियमित देख्ने गरेको आरके लक्ष्मणको कमन म्यान निकै लोकप्रिय थियो । पाकिस्तान र युरोपका कार्टुनिस्टका कार्टुनहरूमा पनि उनी यस्ता पात्र देख्थे । कसैले मानव पात्र राखेका हुन्थे । कसैले कुकुर वा अरू केही । यसलाई कार्टुनिस्टको ट्रेडमार्क मान्छन् उनी जसलाई देखेर यो फलानो कार्टुनिस्टले बनाएको थाहा हुन्थ्यो । उनलाई यस्तै ट्रेडमार्क बनाएर आफ्नो कार्टुनको ब्रान्डिङ गर्न मन थियो । 

त्यो कार्टुन छापिएपछि सम्पादक नारायण वाग्लेले उनलाई फोन गरे, ‘यहाँ कार्टुनिस्ट, सम्पादक र प्रकाशकलाई थुन्ने विशेष सूचना प्राप्त भयो । सतर्क र तयार बस्नुहोला ।’ त्यसपछि उनले छोराछोरी र जहानलाई नि भने, ‘मलाई गिरफ्तार गरिनेवाला छ ।’

‘कमन म्यान’ उनलाई मन पर्ने कार्टुन पात्र थियो । आरके लक्ष्मण कमन म्यानले आमजनताको प्रतिनिधित्व गर्छ भन्थे । यसको वेशभूषा पनि आमजनतासँग कतै न कतैसँग मेल खाने थियो । चेक वेस्टकोट, कुर्ता, धोती र गोलो चस्मा । राजनीतिक घटनालाई आममान्छेको नजरले हेर्ने । कार्टुनमा आममान्छेको उपस्थिति देखाउने । त्यतिवेला राजेश केसीले आफ्ना कार्टुनमा ‘फलानो’ भन्ने पात्र राखिसकेका थिए । उनी के राख्ने होला भनेर गम खाँदै थिए, अलि फरक देखिने । 

केहीअघि वात्सायनले वासुदेव लुइँटेल पुरस्कार पाएका थिए । पुरस्कारमा चाहिँ कौवा बनाएको पाए । वासुदेव लुइँटेलले घरैमा पनि नाङ्लोमा ठूलो कौवा बनाएर राख्थे । त्यो व्यंग्यको एउटा सिम्बोल रहेछ । वात्सायन भन्छन्– हामी कौवालाई सन्देशवाहकका रूपमा लिन्छौँ । आँगनमा आएर काग कराउँदा ‘सुबोल–सुबोल’ भन्ने गरिन्छ । कागले सन्देशमा पक्षपात गर्दैन । शुभ–अशुभ जेसुकै होस् सुनाउने गर्छ । मान्छेले कागको पूजा पनि गर्छन् ।’ उनले सोचे, उपयुक्त त्यही हुन्छ कि ? एकातिर हाँस्यव्यङ्य पनि देखिने । अर्कातिर सन्देश पनि । आखिर कार्टुनको मर्म यही त हो । पात्र जन्मियो, काग । 

कागको विस्तार

आरके लक्ष्मणको कमन म्यान भनेझैँ वात्सायनको काग एउटा मूकदर्शक हो । यो बोल्न सक्दैन, हेरिरहन्छ । जसको आवाज छैन उसले हेर्न मात्रै सक्छ । त्यही रूपमा उनले काग सुरु गरे । उनलाई थाहा थिएन । काग कतिसम्म जान्छ । सुरुवातमा एक सोच थियो– आफूलाई वा पाठकलाई मन नपरे चेन्ज गर्न सकिन्छ । तर, काग उनको कार्टुनबाट कहिल्यै निलम्बित भएन । कुनै हद र सीमितताले कागले कहिल्यै अवकाश पाएन । 

त्यो एउटा सिम्बोल पनि भया, अखबारको कोलममा वात्सायनको उपस्थितिको । वात्सायन कान्तिपुरको फुलटाइमर भएर ५२ सालमा गए । कार्टुन मात्रै होइन, इलस्ट्रेसन पनि उनैले बनाउँथे । बसिबियाँलोमा हेर्दा काग क्यारेक्टरको रूपमा हुन्न । केवल दर्शकको रूपमा हुन्छ । ऊ बोल्दैन । मूकदर्शक हुन्छ । कहिले अबजेटको रूपमा त कहिले कबरको रूपमा । क्यालेन्डरमा कहिले फोटोको रूपमा । ऊ विषय बन्दैन । वस्तु बन्छ । कार्टुनमा उसको उपस्थिति विषयवस्तु बन्छ । 

कार्टुनमा काग पात्र आवश्यकता हो कि विलासिता ? यो कमन म्यान नभएर ‘कमन क्याट’ पो भइरहेछ कि ? जो बाबुबाजेले सराद्दे गर्दा बिरालो बाँधेजसरी अघिका कार्टुनिस्टले नि कार्टुनमा बिरालो बाँधेका थिए र अहिले पनि बाँधिँदै छ ? यो किन राखिन्छ ? कहाँ राखिन्छ ? वात्सायन भन्छन्, ‘यो उपस्थिति जनाउन राखिन्छ । कहिलेकाहीँ कम्पोजिसन मिलाउनुपर्ने हुन्छ । आर्टलाई कसरी प्रस्तुत गर्ने कार्टुनिस्टलाई चुनौती हुने गर्दछ । कुन अबजेटलाई कहाँ राख्ने ? जथाभावी राखियो भने त्यसको अर्थ हुन्न । कम्पोज गर्दा त्यो कहाँ पर्छ । त्यो हाजिरी जनाउन मात्रै त्यहाँ हुन्छ । मूक र आमदर्शकको रूपमा रहन्छ ।’ कार्टुनमा अरू क्यारेक्टरले त्यसको उपस्थिति हुन्छ कि हुन्न ? उनी भन्छन् ‘हुन्न । अरूले फिल गर्दैन । फिल गरे त ती सतर्क हुन्थे । जब फिल गर्थे, उनीहरू जवाफदेही बन्थे ।’ 

पछिपछि त कुनै कार्टुनमा काग छुट्यो भने कार्टुनिस्टहरूले पनि सोध्न थाले– ‘आज काग खै त ?’ उनका पाठकलाई कागको बानी प¥यो । अब कागको खोजी हुन थाल्यो । कार्टुन हेर्दा सुरुमै कागचाहिँ कहाँ राखेको छ भनेर खोजिन थालियो ।

पछि हुँदाहुँदा उनले महसुस गरे, सामाजिक कार्टुन नि राजनीतिबाट प्रभावित हुँदारहेछन् । शिक्षामा राजनीति आएको छ । अर्थमा पनि राजनीति आएको छ । स्वास्थ्यमा पनि राजनीति आएको छ । समाज राजनीतिबाट भिन्न थिएन । राजनीतिले उनको ‘विशुद्ध सामाजिक कार्टुन’मा पनि छोडेन । पछि हुँदाहुँदै पोलिटिकल कार्टुनमा काग राख्न थाले । त्यसपछि त कुनै कार्टुनमा काग छुट्यो भने कार्टुनिस्टहरूले पनि सोध्न थाले– ‘आज काग खै त ?’ उनका पाठकलाई कागको बानी पर्‍यो । अब कागको खोजी हुन थाल्यो । कार्टुन हेर्दा सुरुमै कागचाहिँ कहाँ राखेको छ ? भनेर खोजिन थालियो । उनको कार्टुनमा सबैभन्दा पहिले कागको खोजी हुन थाल्यो । उनले यहीँनेर काग र पाठकलाई लुकामारी खेलाए । कार्टुनहरूमा काग अलि लुकाएर झट्ट नदेखिने ठाउँमा राख्न थाले । 

उनको कम्प्लिटेड कार्टुनमा कागको आफ्नै इलम छ । कागले एकछिनलाई कार्टुनमा ध्यान रोक्ने पनि काम गर्छ । कागसहित, कागरहित सम्झना वात्सायन सोसियल कार्टुन लामो समय रहने शाश्वत हुने मान्यता राख्छन् । उनी भन्छन्, ‘राजनीतिक कार्टुन राजनीतिक मन्थनसँगै मन्थन हुँदै जान्छन् । सामाजिक कार्टुन रहिरहन्छ ।’ वात्सायनका सामाजिक कार्टुनहरूले केवल हसाउँदैनन् । कुनैले भित्र कतै चिमोठ्छ । खिन्न बनाउँछ । उनलाई छुने उनकै कार्टुनहरू यस्तै छन् । जहाँ प्रस्तुत निर्मम यथार्थले हँसाउने होइन आँखा रसाउँछ । 

जीवन र दर्शनसँग सम्बन्धित ‘परित्यक्त डुंगा’ यस्तै एउटा सिर्जना हो । जो उनलाई सबैभन्दा बढी मन पर्छ । तालमा वारपार गर्दागर्दै थोत्रो भएको डुंगा त्यसै किनारमा छोडिएको हुन्छ । जसलाई एउटा बुढा मानिस हेरिरहेका हुन्छन् । कार्टुनमा जीर्ण डुंगाको करङ र बुढाको करङ उस्तै देखिन्छ । संरचना र टेक्स्चर उस्तै देखिन्छन् । ढुंगा प्रयोजन सकिएपछि त्यसै किनारमा मिल्काइएको हुन्छ । बुढा मानिस पनि लगभग त्यस्तै । डुंगा एक्लो छ । बुढा एक्लो छन् । अरू त अरू त्यहाँ काग समेत देखिन्न । 

अर्को कार्टुन जसलाई हेर्दा वात्सायनलाई रुन मन लाग्छ ।सहिद दिवसमा सहिद गेटमा फूलमाला चढाएर भव्य किसिमले सहिद दिवस मनाइएको हुन्छ । एउटी दुःखी आमा सहिदको सालिकको फेदमा माग्न बसेको । उनको सानो र ख्याउटे छोरा सोधिरहेको हुन्छ, ‘आमा आज सहिद दिवस हो ?’ लाग्छ कागरहित यो कार्टुनको काग उभिएर हेर्न नसकेर पक्कै सिंहदरवारतिर कसैलाई ठुग्न उडेको हुनुपर्छ । 

आफैलाई सताएको अर्को कार्टुन पनि उनि भुल्न सक्दैनन् । उही कार्टुन जहाँ गिरिजाप्रसाद कोइराला कुहिएर डुंगढुंग गनाइसकेको संबैधानिक राजतन्त्ररूपी गाइ फोहोरको कन्टेनरबाट झिकेर बोकेर हिँडेका हुन्छन् । त्यो कार्टुन छापिएपछि सम्पादक नारायण वाग्लेले उनलाई फोन गरे, ‘यहाँ कार्टुनिस्ट, सम्पादक र प्रकाशकलाई थुन्ने विशेष सूचना प्राप्त भयो । सतर्क र तयार बस्नुहोला ।’ उनले छोराछोरी र जहानलाई नि भने, ‘मलाई गिरफ्तार गरिनेवाला छ ।’ रेडियो नेपाल, नेपाल टेलिभिजन र सरकारी मुखपत्र गोरखामार्फत शाहीभक्तहरूले कोलाहल मच्चाए । कार्टुनको विरोधको गरे । विरोधको धारावाहिक शृंखला एक महिना चल्यो । शाही कौवाहरू कराइनै रहे । वात्सायनको कौवासँग शाही कौवा थाके । 

कागजस्तै समाज 

कार्टुनमा काग उस्तै छ । पहिले पनि अहिले पनि । कार्टुन बनाएर वात्सायनले आफ्नो पूरै कपाल फुलाए । तर, काग कालोको कालै रह्यो । उसमा कुनै परिवर्तन आएन । उसको स्वभाव, संस्कार केही बदलिएन । केही कागमा उनले चस्मा लगाइदिए । चुच्चोको आकार आफ्नो नाकजस्तै बनाए । टाउको पनि आ–आफ्नोजस्तो बनाए । तर, कागलाई उनको रूपमा ढाल्दा सुहाएन । पछि छोडिदिए । कागलाई कागजस्तै बनाए । र काग उस्तै रह्यो । काग मात्रै होइन, वात्सायनको कार्टुनमा आउने पात्रहरूको चरित्र र स्वभाव उस्तै छ । 

पञ्चायती निरंकुशता र अभिव्यक्ति स्वतन्त्रताप्रतिको अंकुशले दुर्गा बराललाई वात्सायन बनायो । पत्रकारिता र कार्टुनको व्यावसायिकतासँग आएको नयाँ प्रयोगले नेपाली कार्टुनमा नियमित र दोहोरिने पात्रहरू आउन थाले जसमा एक वात्सायनको काग हो ।

उनलाई नयाँ क्यारेक्टर प्रयोग गरौँजस्तो लाग्छ । समाजमा पुरानै क्यारेक्टर हुन्छन् । कागजस्तै समाज केही बदलिएन । मान्छेको मनोवृत्ति बदलिएन । सोच र व्यवहार बदलिएन । भौतिक विकास भए । कहीँ अलि ठूला, अलि लामा र चिल्ला सडक बने । केही पुल, स्कुल, अस्पताल र भव्य भवनहरू पनि बने । तर, मान्छे उस्तै रहे । अझ राजनीतिक पात्र त जसको राजतन्त्रकालमा बन्थे अचेल पनि तिनै अनुहारको बनिरहेका छन् । शासन–व्यवस्था बदलिएको छ । पात्र र प्रवृत्ति बदलिएको छैन । त्यसैले वर्तमानमा कार्टुन बनाइहाल्ने उति उत्सुकता छैन । 

तर, उनलाई कार्टुनमार्फत परिवर्तनका लागि गरिएको प्रयत्न खेर गएजस्तो लाग्दैन । उनी भन्छन्, आफू प्रयत्न गर्ने हो । यसको प्रभाव होस् या अप्रभाव त्यसमा वास्ता छैन । केवल यतिचाहिँ फरक भएको छ, पहिले कार्टुन बनाउँदा सतर्क भएर बनाउनुपथ्र्याे । केही हुन्छ कि भनेर डराउनुपथ्र्याे । अहिले धक फुकाएर सिर्जना गर्न सकिन्छ । 

मुलुकमा गणतन्त्र आयो । जनयुद्दको रापतापसहित माओवादी सरकारमा आयो । अर्थमन्त्री बाबुराम भट्टराईले बजेट पेस गर्दै भने, ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक !’ वात्सायनले त्यसैमा एउटा कार्टुन बनाए– जहाँ प्रचण्ड र बाबुरामले डोकोलाई रकेट बनाउँदै चन्द्रमामा प्रक्षेपण गरिरहेका हुन्छन् । त्यो कहिल्यै अन्तरिक्षतिर बत्तिएन । बरु देशको मुहार फेर्ने भन्दै आएका आफैँ फेरिएर यतै थच्चिए । १९६९ मै वात्सायनले बनाएको कार्टुनको ‘डोको’ यस्तै–यस्तै रूपमा फेरिफेरि कार्टुनमा आइरह्यो । डोको हाम्रो स्थायी नियति बन्यो । यसले कहिल्यै छोडेन । छेउमा काग ठिंग्रिंग उभिएर हेरिरह्यो । केही बोलेन । न काग बदलियो न समाज न त डोको नै । 

कोरोना महामारी सुरु भएपछि कान्तिपुर कोसेलीको प्रकाशन बन्द भयो । कोसेलीमा उनको कोलम नियमित थियो । कान्तिपुरमा यदाकदा बनाउने मात्रै गर्थे । त्यसपछि कोरोना महामारीबीच अखबारमा काग हरायो । लामो अन्तरालपछि दोस्रो वर्षको लकडाउनतिर डेल्टा भेरियन्टको जगजगीबीच मृत्यु, संक्रमणको त्रासदीबीच तत्कालीन प्रधानमन्त्री केपी ओली कुर्सी बोकेर भागिरहेको दृश्यमा कागले आफ्नो उपस्थिति जनायो । त्यसपछि वात्सायनले नयाँ कार्टुन बनाएका छैनन् । पाठकले काग मिस गरिरहेका छन् । उमेरले ८० काटेका वात्सायनले नयाँ सिर्जनाका लागि मुड र जाँगर जुटाइरहन सकेका छैनन् । तर, आफ्नै निवासस्थित स्टुडियोमा ठूलो क्यानभासमा चित्र कोरिरहेका उनले सिर्जनाकर्मलाई निरन्तरता दिइरहेका छन् ।


Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ