'सरी ! योर ट्रान्जेक्सन ह्याज विन टर्मिनेटेड !'

बिहान फुटसल खेल्न जाँदैथिएँ । क्यास थिएन । मनमैँजुको एनआइसी एसियाको एटिएम बुथमा एकजना रिसिप्टका पत्कर उठाउँदै थिए । भने — 'मिसिन चलिरहेको छैन ।' त्यहाँबाट गोंगबु चोक पुगेँ । 'ग्लोबल आइमइको चलिरहेको छ कि ?'भनेर गएको त्यो पनि चलेको छैन । 

नजिकै नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएम बुथमा गएको । त्यो पनि — आउट अफ सर्भिस ।  फेरि ज्योती बिकाश बैंककोमा गएको 'प्लिज इन्सर्ट योर कार्ड' पो भन्छ ! 'हैन के अचम्म हो ?' भनेर हत्त न पत्त कार्ड हुल्छु त - 'सरि ! योर ट्रान्जेक्सन ह्याज विन टर्मिनेटेड' भन्छ । 

नजिकै हिमालयन बैंकको बुथ रहेछ । हेरेँ— भित्र मान्छे रहेछन् । कामै लाग्ने मेसिन राख्या छ कि भनेर एकछिन गदगद भएँ । भित्रको मान्छे एक मिनेटमा आउला भन्यो - आउँदैन ! दुई मिनेटमा आउला भन्यो आउँदैन । ५ —७ मिनेट भएसी सोच्छु — भित्र के गरिरहेको छ मान्छे ? योगा गर्न नि पर्याप्त स्पेस हुन्न । प्रणायम्, ध्यान गर्न नि उपयुक्त ठाउँ होइन । त्यति साँघुरोमा ४ जना छिरेर कलब्रेक खेल्ने कुरा पनि भएन । भित्र न त पानी होस् —न त माछै । ढोक्सा थापेर बस्ने कुरा नि भएन । एउटा हार्मोनियम लगेर शास्त्रीय संगीतको अभ्यास गर्यो कि भनुम भने नि, बाहिर आवाज आएको छैन । 'गरिरहेको चै के छ ए?' भनेर यसो ढोका खोलेर चिहाउँछु त — मिसिनले 'तपाईंको कारोबार हुँदैछ' भन्दै उहिल्यैदेखि पर्खाइरहेको रैछ । मान्छे साँच्चिकै पैसा आउने जसरी पर्खिरहेको रहेछ । 


यहाँ कुर्न थालेँभने साँझ पर्छ भनेर अलि पर गएको — कृषि बिकास बैंकको बुथ रैछ । यसो हेर्छु । साँच्चै नै कामै गर्ने जसरी तपाईंको कार्ड हुल्नोस भनेको रहेछ । 'सरकारी बैंक भनेको सरकारी बैंक नै हो' भनेर मनमनै तारिफ गर्दै कार्ड हुलिदिएँ । मेसिनले पिनकोड माग्यो । मैले दिएँ । 'कति पैसा चाहिन्छ ?' भन्यो । अंकदिएँ । उसले मागेको मैले सबै दिएँ । तर उसले पैसा दिएन । बरु कारोबार गर्न सकिएन भन्दै माफी माग्यो । 

त्यसपछी प्रभु बैंकको एटिएम बुथ रहेछ । 'प्रभु भन्या प्रभु नै हो' भन्दै कार्ड हुलियो । मेसिनले मलाई फेरि 'नास्तिक बनायो ' । फेरि आयो एनइसी एसिया । आस थिएन तैपनी सँगैका सबै एटिएम मेसिन ट्राइ गर्दा उसलाई चैँ छुटायो भनेर चित्त दुखाउला भनेर बुथभित्र छिरेँ — मेसिन मर्मताधिन रैछ ।

'लौ भयो' भनेर हिँडे फुटसल खेल्न । ६ बजे पुग्न हिँडेको । एटिमम ट्वाक चहार्दाचहार्दा साढे ७ बजेछ । साथीहरू फुटसल सिध्याइवरी बाहिर निस्किदै रहेछन् । आफ्नै खाताको पैसा झिक्न डेड घण्टा अनवरत लाग्दा, दश ठाउँ चहार्दा नि सकिन्न भने — यो एटिएम ट्वाक बाटोबाटोमा राख्छन् चैँ किन ? पिसाप लाग्दा — गएर डिस्प्लेमै पर्नेगरि तुर्क्याउन ? 😡


Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ